फाइल तस्बिर ।
बागमती – बागमती नगरपालिकाले विभिन्न आठ स्थानमा संचालन गरेको शिविरमा बिहीबारसम्म दुई हजार ७९२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन् ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा बागमती नगरपालिकाले माघ ३ गतेदेखि संचालन गरिरहेको निःशुल्क आँखा परीक्षण शिविरमा त्यति ठूलो संख्यामा आँखाको रोग भएका बिरामीले लाभ लिएका हुन् ।
बागमती नगरपालिकाले स्थानीय आयोजक भएर बसबरिया गाउँपालिकाको मानपुर स्वास्थ्य चौकी, हरिपुर नगरपालिकाको जानकीनगर स्वास्थ्य चौकी, बरथहवा नगरपालिकाको सामुदायिक भवन हजरिया, छिमेकी जिल्ला रौतहटको आधारभूत विद्यालय मंगलपुर, बागमती नगरपालिकाको जनजागृति आधारभूत विद्यालय, जनज्योति आधारभूत विद्यालय जनता नमूना माध्यमिक विद्यालय र जनकल्याण आधारभूत विद्यालय तथा हरिवन ६ को वडा कार्यालय घुर्कौलीमा संचालन गरेको आँखा शिविरमा आजसम्म २७ सय ९२ जनाले आँखा परीक्षण गराएका हुन् ।
तीमध्ये ५४९ जनामा मोतिया विन्दु फेला परेको बागमती नगरपालिका स्वास्थ्य शाखाका संयोजक पदम रायमाझीले बताए । रायमाझीका अनुसार शिविरमा मोतिया विन्दु देखिएका बिरामीलाई जनता नमूना माध्यमिक विद्यालय बागमती–५, सोल्टीमा ल्याएर निःशुल्क अप्रेसन गराउने काम जारी छ ।
सो ठाउँमा शुक्रबारसम्म आँखा जाँचसहित मोतिया विन्दुको अप्रेसन क्याम्प चल्ने स्वास्थ्य शाखाका संयोजक रायमाझीले बताए ।