लालबन्दी – एक पटक जनकपुर आइसकेको जहाज मौसम खराबीले अबतरण हुन नसकेछि काठमाडौँ नै फर्किएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अर्को पटकको फ्लाईटमा जनकपुर विमानस्थलमा ओर्लिएर शनिबार राति लालबन्दी आइपुगेका छन् ।

उनी आइतबार (भोली) सदरमुकाम मलंगवामा जिल्ला कारगार भवनको उद्घाटन तथा लालबन्दीको पत्थरकोटमा लखन्देही खोलामा बन्ने पुलको शिलान्यास गर्न यहाँ आएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई लालबन्दीस्थित नयाँ युनाइटेड होटलमा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, हरिवनका मेयर रमेश बुढाथोकी (कमल), माओवादी नेता प्रल्हाद बुढाथोकी, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, चारवटै सुरक्षा निकायका प्रमुखसहित अन्य सुरक्षा अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, माओवादी केन्द्रका नेता तथा सो पार्टीबाट निर्वाचित जनप्रतिनिधिले स्वागत गरेका छन् ।

गृहमन्त्री श्रेष्ठसँगै मधेश प्रदेशका प्रहरी प्रमुख (डीआइजी) यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका प्रदेश प्रमुख (डीआइजी) दीपेन्द्र साहसहित प्रदेशका अन्य सुरक्षा अधिकारी लालबन्दी आइपुगेका छन् ।

भोली नै गृहमन्त्रीको उपस्थितिमा हुने प्रदेश स्तरीय सुरक्षा बैठकमा प्रदेशका सुरक्षा अधिकारीसँगै आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक सहभागी हुने छन् ।