logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

गृहमन्त्री सवार विमान जनकपुरमा ल्यान्ड हुन सकेन, सिमराको फ्लाइट ‘क्यान्सिल’


  • उज्यालो अभियान

लालबन्दी – भोली सर्लाहीमा आयोजना गरिएका दुईवटा कार्यक्रममा सरिक हुन आउन लागेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ सवार विमान जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं नै फर्किएको छ ।

आज अपरान्ह ४ बजेपछि जनकपुर आइपुगेको विमान मौसम खराबीले गर्दा जनकपुर विमानस्थलमा ल्यान्ड हुन भने सकेन । अहिले साँझमा फेरि विमानले काठमाडौंबाट उडान भरेर आइरहेको तर मौसमले साथ दिने/नदिने निश्चित नभएको सर्लाहीका एक सुरक्षा अधिकारीले उज्यालो अभियानसँग बताए ।

यसअघि गृहमन्त्री श्रेष्ठ सिमरा विमानस्थलबाट यहाँ आउने कार्यक्रम तय थियो । तर मौसम खराबीले सिमराको फ्लाइट नै ‘क्यान्सिल’ भएको बुझिएको छ ।

गृहमन्त्री श्रेष्ठले भोली बिहान १० बजेपछि सदरमुकाम मलंगवामा पुनर्निर्माण भएको जिल्ला कारगार भवनको उद्घाटन र लालबन्दी नगरपालिकाको वडा नं. १२ जियाजोरमा लखन्देखी खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्ने कार्यक्रम छ ।

गृहमन्त्रीलाई स्वागतका लागि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहितका सुरक्षा अधिकारी लालबन्दी आएर बसिरहेका छन् ।

गृहमन्त्री श्रेष्ठ लालबन्दीस्थित नयाँ युनाइटेड होटलमा आएर बास बस्ने र भोली मलंगवा र जियाजोरको कार्यक्रममा सरिक हुने बुझिएको छ ।