हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका पुनः प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) शम्भुप्रसाद यादवको २२ दिनमै सरुवा भएको हो । यादवको यसअघि एक पटक एक घण्टामै र अर्को पटक हाजिर भएको २४ घण्टा बित्न नपाउँदै सरुवा भएको थियो ।
तेस्रो पटक पुस ११ गते हरिपूर्वामा हाजिर हुनुभएका उपसचिव यादवको माघ ३ गतेको मितिमा सिरहा नगरपालिका, सिरहामा सरुवा भएको हो । यादवलाई यसअघि बैशाख १७ गते हरिपूर्वा नगरपालिकामा हाजिर भएको एक घण्टामा र असोज १७ गते २४ घण्टामै फिर्ता बोलाइएको थियो ।
प्रमुख प्रशासकीय अधिकृतको अभाव र राजनीतिक खिचातानीका कारण यस नगरपालिकाले अहिलेसम्म नगरसभा गर्न सकेको छैन् । प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर भएपछि नगर सभा हुने आश स्थानीयमा थियो तर उनको पुनः अन्यत्रै सरुवा भएपछि नगरसभा थप अन्यौलमा परेको छ ।
नगरसभा नहुँदा विकास निर्माणका काम ठप्प छन् । शिक्षक, कर्मचारीले गएको साउनदेखि तलब पाएका छैन् । सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन् । सात महिनासम्म सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा निराश बनेका छन् ।
हरिपूर्वाका नगरप्रमुख विनोदकुमार साह तेलीले नगरपालिकालाई बन्धक बनाएर यस्तै रहोस्, केही विकास नहोस् भन्ने षडयन्त्र भइरहेको उज्यालो अभियानसँग गुनासो गरेका छन् । यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा सङ्घीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवको दबाबमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहाँ कोही प्रमुख प्रशासकीय अधिकृत नपठाउने र बल्लतल्ल पठाइएकालाई पनि तुरुन्त सरुवा गर्ने गरेको नगरप्रमुख साहको आरोप छ ।
मन्त्री यादवले ३० वर्षसम्म यो क्षेत्रमा केही गर्न नसकेको र मेयरले राम्रो काम गर्ने हो की भनेर जालझेल गरी प्रमुख प्रशासकीय अधिकृत टिक्नै नदिएको साहले आरोप लगाएका छन् ।