हरिवन – अख्तियार दुरुपयाेग अनुसन्धान कार्यालय बर्दिबासमा सर्लाहीका २० वटा पालिका मध्ये सबैभन्दा बढी उजुरी कविलासी नगरपालिका विरुद्ध परेकाे छ ।
बुधबार हरिवन नपाकाे वडा नम्बर ११ कार्यालयकाे सभाहलमा अख्तियार बर्दिबास कार्यालयले आयाेजना गरेकाे ´भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तर्क्रिया कार्यक्रम` मा प्रस्तुत तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ काे मंसिर मसान्तसम्म सर्लाहीका पालिकाहरुले गरेका ३१४ वटा कामहरु विरुद्द उजुरी परेकाे छ । जसमध्ये ९० वटा फर्छ्याैट भएकाे तथा २२४ वटा उजुरीकाे छानविन भईरहेकाे अख्तियारका उपसचिव कृष्ण प्रसाद हुमागाईंले जानकारी दिए ।
अख्तियारकाे तथ्यांक अनुसार कविलासी नगरपालिकाले गरेका ५३ वटा विभिन्न सार्वजनिक कामहरु विरुद्द उजुरी परेकाे छ । परेका उजुरीहरु मध्ये १८ वटा फर्छ्याैट भएकाे र ३५ वटा बाँकी रहेकाे हुमागाईंले बताए । यसमा प्रदेश र संघीय सरकारका निकायबाट भएका कामहरु विरुद्द परेका उजुरी भने समेटिएका छैनन् ।
त्यस्तै सबैभन्दा कम पर्सा गाउँपालिकामा २ वटा मात्र उजुरी परेकाे छ । जसमा १ उजुरी फर्छ्याैट भएकाे र एउटा बाँकी रहेकाे छ । त्यसैगरि हरिपूर्वा नपा भित्र ३५, रामनगर गाउँपालिका भित्र २९, मलंगवा नगरपालिका भित्र २४, बरहथवा तथा लालबन्दी नगरपालिका भित्र १८ र चन्द्रनगर गापा भित्र १७ वटा उजुरी परेका छन् ।
त्यस्तै हरिपुर नपा भित्र १६, चक्रघट्टा गापा भित्र १५, ईश्वरपुर नपा भित्र १४, बलरा नपा भित्र १३, हरिवन नपा भित्र १२, गाेडैता नपा तथा काैडेना गापा भित्र ९ र बागमती नपा तथा ब्रह्मपुरी गापा भित्र ८ वटा उजुरी परेकाे छ । धनकाैल तथा बसबरिया गापा भित्र ५ र विष्णु गापामा ४ वटा उजुरी परेका छन् ।
कार्यक्रममा हरिवन नपाका प्रमुख रमेश बुढाथाेकी (कमल), उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकाेटा, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतकाे उपस्थिती रहेकाे थियाे । त्यस्तै हरिवन भित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक, पालिकाका शाखा प्रमुख, वडा सचिव, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकका प्रबन्धक सहित हरिवनस्थित सरकारी कार्यालयका प्रमुखहरु समेत उपस्थित कार्यक्रममा अख्तियारका उपसचिव हुमागाईंले भ्रष्टाचारकाे प्रवृत्ति, उजुरीहरुकाे प्रवृत्ति, उजुरी दर्ता र फर्छ्याैटकाे अवस्था, भ्रष्टाचारकाे परिभाषा एवं मुलुककाे कानूनी प्रावधान बारेमा प्रश्ट्याएका थिए ।