मलंगवा – सर्लाहीमा आज पनि अत्यधिक कठ्यांग्रिदो चिसो छ ।
बिहानैदेखि बाक्लो मात्रामा हुस्सु लागेर तुसारो समेत परिरहेकाले यहाँ ठिर्याउँदो चिसो भइरहेको हो । हिजो दिउँसोपख जिल्लाको मौसम सफा भई उघ्रिएर पारिलो घाम लागेको थियो । तर आज फेरि मौसम प्रतिकूल बनेको छ ।
जिल्लाको सबैभेगमा बाक्लो मात्रामा हुस्सु लागेर तुसारो परिरहेकाले अत्यावश्यक काम परेका मानिसलाई घरबाहिर निस्कनै मुस्किल परेको छ । चिसोले दैनिक मजदुरीमा निस्कनुपर्ने मजदुर, किसान र गरिबगुरुवालाई अप्ठेरो परिरहेको छ । लगातार कठ्यांग्रिने गरी चिसो हुँदा शिशु, बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति बढी प्रभावित बनेका छन् ।
चिकित्सकले यो चिसोमा ती व्यक्तिहरुको विशेष ख्याल गर्न, तुसारो र स्याँठ चलेको बेला घरभित्रै बस्न, सुरक्षितसँग आगो ताप्न, झोलिला र पौष्टिकयुक्त खानेकुरा खान तथा चिसोबाट जोगिने उपाय अपनाउन सुझाव दिँदै आएका छन् ।
चिसो छल्न मानिस घर, चोक, बजारमा आगो तापेर बसिरहेका छन् । स्थानीय पालिक र अन्य निकायले न्यानो प्रदान गर्न वास्ता गरेका छैनन् ।
तुसारो र हुस्सुले आलु, गोलभेँडा, सिमी, खुर्सानीसहित किसानले लगाएको तरकारी र बालिनालीमा ठन्डीजन्य संक्रमण बढ्न थालेको बताएका छन् ।
चिसोले पन्छी तथा पशुचौपाय सुरक्षित राख्न र स्याहार गर्न मुस्किल परेको किसानको भनाई छ ।