हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, मा रहेको महादेव जनता नमूना माध्यमिक विद्यालयका ३६ जना छात्रछात्रालाई नेपाली सेनाले राष्ट्रिय सेवा दल तालिम प्रदान गरेको छ ।
सेनाको नवलपुरस्थित भैरवी दल गण पाँचकुमारी ब्यारेकले विद्यालयका १८ जना छात्र र १८ जना छात्रालाई तालिम प्रदान गरेको हो । १०० दिने तालिम अन्तर्गत पहिलो चरणमा ७९ दिनसम्म विद्यालयमै एफसी, बिसी, म्याप रिडिङ, विपद् व्यवस्थापन, ड्रिल, तेक्वान्दो खेल र एरोबिक्सहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको नेपाली सेनाले जनाएको छ ।
ती छात्रछात्रालाई अब माघ २ गतेदेखि मोरङको याङशिलामा हुने २१ दिने वार्षिक सामूहिक क्याम्पमा सहभागी गराइने छ । विद्यालयमा आयोजित ७९ दिनसम्म चलेको संस्थागत तालिमको भने आज समापन गरिएको छ ।
तालिमको समापन गर्दै भैरवी दल गण पाँचकुमारी ब्यारेकका गणपति एवं प्रमुख सेनानी सूर्यबहादुर कार्कीले यस तालिमबाट छात्रछात्रालाई अनुशासित बनाउन र स्थानीय स्तरमा हुने प्राविधिक विपद् तथा सङ्कटको बेला उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रमुख सेनानी कार्कीकै प्रमुख आतिथ्यतामा आयोजित तालिम समापन समारोहमा विद्यालयका निमित्त प्रधानाध्यपक गिरिराज राना, निवर्तमान प्रधानाध्यापक जयशङ्कर सिंह, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सेनाका अधिकारीलगायत सहभागी भएका थिए ।