मलंगवाका सौरभ सुमनलाई म्यान अफ दी म्याचको उपाधी प्रदान गर्दै नगरप्रमुख नागेन्द्र प्रसाद यादव । (तस्बीर : सुनिल/उज्यालो अभियान)
सुनिल ठाकुर, मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा जारी जिल्ला स्तरीय टी–२० शहीद कप क्रिकेट टुर्नामेन्टमा बुधबार भएको खेलमा मलंगवा नगरपालिकाले गोडैता नगरपालिकालाई ४ विकेटले पराजित गरेको छ ।
तीन बिघे मैदानमा भएको खेलमा पहिले टस जितेर ब्याटिङ गरेको गोडैता नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १९ रन जोड्यो । गोडैताका लागि सुभाष पण्डितले सर्वाधिक ३३ रन र महबुब आलमले २९ रन बनाए । मलंगवाका लागि सौरभ सुमनले सर्वाधिक ३ र प्रमोद दासले २ विकेट लिए ।
१ सय २० रनको विजयी लक्ष्य पाएको मलंगवाले १५.१ ओभरमा ६ विकेट गुमाई लक्ष्य भेट्टायो । १५ ओभरमा १ सय १८ बनाएको मलंगवाका लागि रोहनले छक्का प्रहार गर्दै जित दिलाए । मलंगवाका लागि सौरभ सुमनले सर्वाधिक ४२ रन बनाए ।
सुमनले २४ बल खेल्दै ३ छक्का र ३ चौका प्रहार गरे । गोडैताका लागि शुशील महतोले सर्वाधिक २ विकेट लिए । खेलको म्यान अफ दी म्याच मलंगवाका सौरभ सुमन नै घोषित भए ।
मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवले सुमनलाई ट्रफी प्रदान गरेका छन् । म्यान अफ दी म्याचको उपाधी प्रदान गर्दै नगरप्रमुख यादवले आफ्नो व्यक्तिगत तर्फबाट मलंगवाका खेलाडीहरुलाई प्रोत्साहन स्वरुप १२ हजार ५ सय नगद प्रदान गरेका आयोजक समितिका अध्यक्ष गणेश कुमार यादवले जानकारी दिए ।
प्रतियोगितामा भोली बिहीवारको खेल हरिवन नगरपालिका र ब्रहम्पुरी गाउँपालिकाबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेतालाई नगद एक लाख र उपविजेतालाई ५० हजारसहित कप र प्रमाण–पत्र प्रदान गरिने छ ।