बरहथवा, २२ पुस – प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले सर्लाहीकाे बरहथवा बजार क्षेत्रमा पून: कर्फ्यू आदेश जारी गरेका छन् । निषेधाज्ञा आदेश जारी गरेका छन् ।
आज आईतबार दिउँसाे १२:४५ बजेदेखि भाेली साेमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएकाे हाे । बरहथवा नगरक्षेत्र अन्तर्गत (उत्तर सोती/चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान सिमा क्षेत्र भित्रका लागि कर्फ्यू जारी भएकाे प्रजिअ धमलाद्वारा हस्ताक्षरित आदेश पत्रमा उल्लेख छ ।
यसअघि शुक्रबार साँझ साँढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यू तथा शनिबार बिहान ८ बजेदेखि आईतबार बिहान ८ बजेसम्म स्थानीय प्रशासनद्वारा निषेधाज्ञा आदेश जारी भएकाे थियाे । उक्त क्षेत्रभित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवं अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासनद्वारा आईतबार पुन: दाेस्राे पटक कर्फ्यू आदेश जारी भएकाे हाे । उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्ने आदेश रहेकाे छ ।
नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने सम्बन्धी विषयलाई लिएर बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएको भन्दै पुन: कर्फ्यू जारी गर्नु परेकाे आदेशपत्रमा उल्लेख छ । प्रदर्शनका क्रममा प्रहरीकाे गाेली लागेर स्थानीय जयशंकर साहकाे गत शुक्रबार दिउँसाे मृत्यु भएकाे थियाे । प्रदर्शनकारीहरुले मृतक साहकाे शव गाेली लागेकाे घटनास्थलमै राखेर विराेध जारी राखेका छन् । आईतबार बिहानबाट भिड अझै बढ्न थालेपछि प्रशासनले कर्फ्यू जारी गरेकाे छ ।
याे पनि पढ्नाेस
बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमा, जिल्ला प्रशासनमा छलफल हुँदै
सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार
बरहथवा घटनालाई लिएर कांग्रेसले जिल्लाभर राँके जुलुस निकाल्यो