बरहथवा – सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ ।
प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको बरहथवास्थित चोर्निया पुलमा घटनास्थलमै मृत्यु भएको थियो । प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव अझै घटनास्थलबाट उठाउन दिएका छैनन् ।
गएसाँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शैय्याको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजिनामा दिनुपर्नेलगायतका मागमा अडान रहेपछि कुनै निष्कर्ष निस्किएन । आज अहिले बिहान पुनः जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल हुँदैछ ।
स्थानीयहरु शुक्रबार दिउँसोेदेखि नै मृतकको शव सडकमै रुँगेर बसेका छन् । उनीहरु माग पूरा नहुन्जेल शव उठाउन नदिने भन्दै कठ्यांग्रिदो चिसोमा सडकमा प्रदर्शन गरेर बसिरहेका हुन् ।
सरकारले तीन सदस्यीय छानविन समिति बनाएर घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने र मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेपनि यहाँ आन्दोलन नरोकिएको हो ।
अवस्था थप बिग्रन नदिन बरहथवा बजारमा जिल्लाभरबाट तथा प्रदेशबाट समेत थप मद्धत मगाएर व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । बजार क्षेत्र, नगरपालिका कार्यालय र नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा प्रहरीले सुरक्षा पहरा दिएर बसेको छ ।
गएको असोज ९ गते नगरप्रमुख कटुवालसहितका जनप्रतिनिधिले कार्यपालिका बैठकबाट प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेका थिए । बीचमा यो निर्णय कार्यान्वयन गर्न माग गर्दै कांग्रेस, जसपा, लोसपा, जनमत र बहुजन एकता पार्टीले दबाब दिँदै आएका थिए । तर, यही पुस १८ गते बसेको कार्यपालिका बैठकले असोज ९ गतेको निर्णय उल्ट्याउँदै स्वास्थ्य केन्द्र तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय स्थगित गर्ने निर्णय गरेपछि तनाव झनै बढेको हो ।
नगरप्रमुख, उपप्रमुखसहित नेकपा एमालेका कार्यपालिका सदस्य अस्पताल हस्तान्तरण नगर्ने पक्षमा छन् । अस्पताल हस्तान्तरणकै विवादले एक युवकको ज्यान जानुका साथै सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीबाट क्षति पुगेको छ ।
गएको शुक्रबारदेखि नै बरहथवा बजार खुल्न सकेको छैन् । नयाँरोड–बरहथवा सडकमा यातायात चल्न सकेका छैन् । तीन दिनदेखिको बन्दले सर्वसाधारण प्रभावित बनिरहेका छन् ।