युवकको गोली लागेर मृत्यु भएको पुल छेउछाउमा शनिबार बिहान भेला भएका स्थानीय । (तस्बीर : उज्यालो अभियान)
बरहथवा – बरहथवा घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय मलंगवामा भर्खरै सर्वदलिय बैठक सम्पन्न भएको छ ।
सर्वदलिय बैठकले मृतकको शव व्यवस्थापन गर्ने, गोली चलेको घटनामा प्रहरी दोषी देखिए कारवाही गर्ने, मृतकप्रति समवेदना व्यक्त गर्ने, प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीले घटनास्थलको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले उज्यालो अभियानलाई जानकारी दिए । सो निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमलासहितको टोली बरहथवा आउँदै छ ।
बरहथवा नगरपालिका ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विवादले शुक्रबारदेखि बरहथवा बजार अशान्त बनेको छ । प्रदर्शन चर्किएपछि बरहथवा बजार क्षेत्रमा जिल्ला तथा प्रदेशबाट समेत थप मद्धत टोली मगाएर व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
नगरपालिका कार्यालय र नगरप्रमुख कटुवालको घरमा प्रहरीले सुरक्षा पहरा दिइरहेको छ । गोली लागेर मृत्यु भएका युवक जयशंकर साहको शव घटनास्थलमै छ भने स्थानीयले मृतकको शालिक निर्माण, दोषीलाई कारवाहीको मागलगायतको माग राखेर प्रदर्शन जारी राखेका छन् ।
तनावका कारण बरहथवा बजार आज दोस्रो दिन पनि बजार छ भने नयाँरोड–बरहथवा सडकमा गाडी चलेको छैन् ।