logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार


  • उज्यालो अभियान

बरहथवा  – सर्लाहीको बरहथवा बजार क्षेत्र तनावग्रसत बनेको छ ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका कारण स्थिति तनावग्रस्त बनेको छ ।

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको जानकारी दिए ।

व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिए पनि प्रदर्शन रोकिएको छैन् ।

बरहथवा नगरपालिकाको नगर कार्यपालिका बैठकले केही समयअघि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । अहिले सो निर्णयबाट नगरप्रमुखसहित बहुमत सदस्य पछि हटेका छन् । कांग्रेसका जनप्रतिनिधि भने निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा छन् ।

यही विषयमा छलफल गर्न आज बिहान सर्वदलिय बैठक बोलाइएकोमा नगरपालिकाले सूचना निकालेर बैठक स्थगित गरेको छ ।