logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उखु किसानले एक वर्षपछि पाए अनुदान रकम


  • उज्यालो अभियान

हरिवन – सर्लाहीका उखु किसानले एक वर्षपछि बल्ल अनुदानको रकम प्राप्त गरेका छन् ।

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार प्रत्येक उखु किसानको खातामा अनुदानको रकम प्राप्त भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले गएको बिहीबार बैङ्क तथा वित्तीय संस्थाहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरेको थियो ।

बैङ्कहरुले किसानको खातामा पैसा जम्मा गरिदिएका उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले बताए । किसानले आन्दोलन गरेपछि सरकारले बल्ल अनुदान रकम पठाएको मैनालीको भनाई छ ।

गएको वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ तय गर्दा उद्योगीले ५४० रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने निर्णय भएको थियो । सर्लाहीका उखु किसानका लागि वितरण गर्न २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ३० पैसा निकासा हुनुपर्नेमा सरकारले दशैँ अघि ११ करोड २६ हजार ६३८ रुपियाँ मात्रै निकासा गर्यो । अधुरो रकम निकासा भएर आएपछि तिहारअघि किसानलाई ३० प्रतिसतका दरले अर्थात् ७० रुपियाँमध्ये २१ रुपियाँका दरले भुक्तानी दिइएको थियो ।

सरकारले भर्खरै बाँकी अनुदान रकम पठाएपछि किसानको बक्यौता रहेको ४९ रुपियाँ प्रत्येक किसानको खातामा पठाइएको हो । सर्लाहीका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेले गएको बिहीबार प्रत्येक बैङ्क एवं वित्तीय संस्थाहरुलाई चेक हस्तान्तरण गर्दा तत्कालै किसानको खातामा रकम हालिदिन निर्देशन दिइएको बताए । उनले किसानलाई आफ्नो अनुदान रकम आउने बैङ्कमा गएर रकम आए/नआएको बुझ्न आग्रह गर्नुभएको छ ।

सरकारले यस वर्षका लागि केही साताअघि उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण गरिसकेको छ । उद्योगीले ५६५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने उल्लेख छ ।

उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले यो वर्ष मधेश प्रदेश सरकारले समेत प्रतिक्विन्टल १० रुपियाँ थप अनुदान रकम दिने घोषणा गरेकाले सो अनुदान रकमका लागि पनि पहल जारी राखिएको जानकारी दिए ।