मलंगवा – सर्लाहीका उखु किसानको गत वर्षकै बाँकी अनुदान रकम बल्ल कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा प्राप्त भएको छ ।
एक वर्षअघि बिक्री गरेको उखुको अनुदान रकम माग गर्दै यहाँका उखु किसानले एक सातासम्म सडक आन्दोलन गरेका थिए । सर्लाहीका कोष नियन्त्रक पुरुषोत्तम बरालले उखु किसानको बाँकी अनुदान रकम कार्यालयको खातामा निकासा भएर आएको उज्यालो अभियानसँग बताए । “उखु किसानको बाँकी बक्यौता अनुदान रकम केही दिनअघि कार्यालयलाई प्राप्त भएको छ,” कोष नियन्त्रक बरालले भने, “पुस १५ गतेभित्र किसानको खातामा पैसा पठाइसक्ने गरी आन्तरिक तयारीमा जुटिसकेका छौँ ।”
सर्लाहीमा रहेका इन्दुशङ्कर, महालक्ष्मी र अन्नपूर्ण गरी तीनवटा चिनी मिलमा गत वर्ष उखु बेचेका १७ हजार ३० जना किसानलाई प्रति क्विन्टल ७० रुपियाँको दरले वितरण गर्न २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ३० पैसा निकासा हुनुपर्नेमा तिहारअघि नौ करोड ११ लाख २६ हजार ६३८ रुपियाँ मात्रै प्राप्त भएको थियो । सो रकम किसानलाई ३० प्रतिसतको हिसाबले अर्थात् ७० रुपियाँमध्ये २१ रुपियाँको दरले वितरण गरिएको थियो ।
अर्थ मन्त्रालयले पूरा रकम निकासा नगर्दा उखु किसानको २० करोड १४ लाख २६ हजार १११ रुपियाँ ३० पैसा अनुदान रकम बक्यौता बसेको थियो । सो रकम केही दिनअघि कार्यालयको खातामा प्राप्त भएको कोष नियन्त्रक बरालले बताएका हुन् ।
कार्यालय प्रमुख तथा प्रमुख कोष नियन्त्रक निर्मल न्यौपाने सङ्घीय राजधानी काठमाडौँमा रहेको र उनी बुधबारसम्ममा कार्यालय फर्किएपछि अनुदान रकम किसानको खातामा हाल्ने कोलेनिकाको तयारी छ । “हाकिम साब बुधबारसम्ममा काठमाडौँबाट फर्किनुहुन्छ, त्यसपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको उखु किसानको भुक्तानी गर्न बनेको समितिको बैठक बसेर किसानको अनुदान रकम पठाइहाल्छौँ” कोष नियन्त्रक बरालले भने ।
कोलेनिकाले विभिन्न बैङ्क तथा सहकारीको खातामा पैसा हालिदिने र त्यसपछि ती बित्तीय संस्थाहरुले किसानको खातामा पैसा पठाइदिने व्यवस्था छ । काठमाडौँमा रहेका प्रमुख कोष नियन्त्रक न्यौपानेले आज ९ र भोली १० गते सार्वजनिक बिदा परेको र १२ गते बेलुकासम्म कार्यालयको तर्फबाट बैंकहरुलाई चेक प्रदान गरिसक्ने उज्यालोसँगको कुराकानीमा बताए । उनले बैंक तथा बित्तीय संस्थाहरुलाई पुस १५ गतेसम्म किसानको खातामा पैसा गइसक्ने गरी काम गर्न आग्रह गर्ने बताएका छन् ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बजेट नरहेको तथा अन्य बहनाबाजी गरेर उखुको अनुदान नै नदिने तयारी गरेको सरकारले उखु किसान आन्दोलित भएपछि बाध्य भइ अनुदान रकम पठाएको बताए । गत वर्षको अनुदान रकम बल्ल आइपुगेकाले यो वर्षको अनुदान रकम अब कहिले पाउने हो भन्ने कुनै टुङ्गो नरहेको मैनालीले गुनासो गरेका छन् ।
सरकारले गएको बुधबार यो वर्षका उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण गर्दा चिनी उद्योगले ५६५ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।