हरिवन – उखु किसानका विभिन्न माग राखेर गएको सोमबारदेखि इन्दुशङ्कर चिनी उद्योग हरिवनको मुलगेटमा आमरण अनसनमा बसेका शेष इस्तीहारले आज (बिहीबार) दिउँसोबाट अनसन तोडेका छन् ।
उखु किसान समेत रहेका इस्तीहारलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जुस पिलाएर आमरण अनसन स्थगित गराएका हुन् । उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्नुपर्ने, गत वर्षको सरकारी अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने, उखुको प्रवद्र्धन शब्द हटाइ नियमानुसार अनुदान रकम सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बीउ प्रदान गर्नुपर्ने, कृषि योग्य जमिनमा सिँचाईको प्रवन्ध मिलाउनुपर्ने र किसानलाई चाहिने मलखादको प्रवन्ध गर्नुपर्ने छ बुँदे माग राखी इस्तीहार सोमबार बिहानबाट आमरण अनसनमा बसेका थिए ।
मुख्यमन्त्री यादवले आज अनसनस्थलमा आएर इस्तीहारले उठाएका माग सम्वोधन गर्न प्रदेश सरकारले सकेको पहल गर्ने र सङ्घीय सरकारसँग पनि आग्रह गर्ने प्रतिवद्धता जनाएपछि उनले अनशन स्थगित गरेका हुन् ।
मुख्यमन्त्री यादवले उखु किसानलाई सङ्घीय सरकारले दिने अनुदानबाहेक पनि प्रदेश सरकारको तर्फबाट प्रतिक्विन्टल थप १० रुपियाँ अनुदान उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र उर्जा, सिँचाई तथा खानेपानी राज्य मन्त्री शेख अबुल कलाम अजादले हिजो अनसनस्थलमा आएर इस्तीहारले उठाएका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाएका थिए ।
मुख्यमन्त्री आएर अनसन तोडाएसँगै इस्तीहारलाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवनमा भर्ना गरिएको माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए । चार दिनसम्म अनसन बस्दा उनको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
इस्तीहार गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट हरिवन ११ को वडाध्यक्षका प्रत्यासी थिए ।
उखु किसानका माग सम्वोधन गर्न माग गर्दै केही वर्षअघि हरिवन नगरपालिका ११ का निर्वाचित वडाध्यक्ष शेष महबुब रेजा यसैगरी आमरण अनशनमा बसेका थिए ।