हरिवन – सरकारले आज (बुधबार) उखुको मूल्य निर्धारण गरेपनि सर्लाहीका उखु किसानले एक सातादेखि जारी आन्दोलन नरोक्ने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले गएको वर्षको तुलनामा २५ रुपियाँ बढाएर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ तोकेको छ । त्यसमा उद्योगीले ५६५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने उल्लेख छ ।
सर्लाहीका आन्दोलित उखु किसानले उद्योगीको प्रभावमा परेर हचुवाको भरमा मूल्य तोकिएको भन्दै यो मूल्य स्वीकार नगर्ने र आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका हुन् । जिल्लाका उखु किसान यो वर्ष उखुको मूल्य ७५० रुपियाँ कायम गर्नुपर्ने र एक वर्षअघि बिक्री गरेको उखुको सरकारले दिनुपर्ने ७० रुपियाँ अनुदान रकम यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलित छन् ।
उखु किसानले आज हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा नाराबाजी तथा टायर बालेर केही घण्टा राजमार्ग अवरुद्ध पारे ।

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जालझेल गरेर तोकिएको मूल्य किसानलाई स्वीकार्य नरहेको बताए ।
मङ्सिर १७ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरकार, उद्योगी र किसानका प्रतिनिधिबीच भएको छलफलमा पुनः त्रिपक्षीय बैठक गरेर मूल्य तय गर्ने निर्णय भएपनि अहिले सरकारले चिनी उद्योगका मालिकसँगको मिलेमतोमा हचुवाको भरमा मूल्य तोकेको मैनालीले गुनासो गरे । आफूहरुलाई राखेर उखुको मूल्यको विषयमा थप छलफल गर्न आग्रह गर्दा सरकारले सुन्दै नसुनेको मैनालीले दुःखेसो पोखे ।
उखु किसान आन्दोलनको नेतृत्व गरिरहेका मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले किसानले आन्दोलन गरिहाले ५/१० रुपियाँ थपिदिऊँ न त भन्ने हिसाबले हचुवाको भरमा उखुको मूल्य तोकिएको भन्दै असन्तुष्टी व्यक्त गरे । उनले आन्दोलनलाई निरन्तरता दिने र चिनी मिल सन्चालन हुन नदिने जानकारी दिए ।
किसान सङ्घसङ्गठनले चिनी मिल सन्चालन हुन नदिँदा किसानको उखु भने दिनानुदिन खेतमै सुकेर तौल घट्दै गएको छ । चिनी मिलले उखु क्रसिङ सुरु नगर्दा किसान निराश बन्न थालेका छन् ।
यसैबीच, उखु किसानले उठाएको माग सम्वोधन गर्न भन्दै इन्दुशङ्कर चिनी उद्योग हरिवनको मुलगेटमा तीन दिनदेखि धर्नामा बसेका माओवादी केन्द्रका कार्यकर्ता शेष इस्तीहारले पनि आमरण अनशनलाई निरन्तरता दिएका छन् ।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि इस्तीहारलाई आजबाट स्लाइन पानी चढाएर राखिएको छ । इस्तीहारलाई आज दिउँसो मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र उर्जा, सिँचाई तथा खानेपानी राज्य मन्त्री शेख अबुल कलाम अजादले भेट गरी उखु किसानको समस्या समाधानका लागि प्रदेश सरकारको क्षमताले भ्याएसम्म मलखाद, सिँचाई र कृषि विद्युतीकरणका लागि काम गर्ने र केन्द्र सरकारसँग पनि पहल गर्ने प्रतिवद्धता जनाए ।
प्रदेश सरकारका मन्त्रीको प्रतिवद्धता पछि पनि इस्तीहारले अनसन भने तोडेनन । उनको अनसन यथावत् रहेको माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्तले बताए ।