logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अर्थ हैन अनर्थ र विकास हैन विनास मन्त्रालय भन्दै उखु किसानले ब्यानर जलाए


  • उज्यालो अभियान

किसानले मन्त्रालयका नाममा व्यंग्य गर्दै बनाएकाे ब्यानर । (तस्बिर : उज्यालाे अभियान)

आईतबार महेन्द्र राजमार्गमा जम्मा भएका किसान नेताहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन, ०१ पुस – सर्लाहीका उखु किसानले आज (आईतबार) दिउँसाे हरिवनमा संघीय सरकारका अर्थ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाे ब्यानरकाे प्रतिमा बनाएर दहन (आगाे लगाएका )गरेका छन् ।

किसान नेताले मन्त्रालयकाे व्यंग्यात्मक ब्यानरमा लगाएकाे आगाे नियन्त्रणमा लिने प्रयास गर्दै सुरक्षाकर्मी । (तस्बिर : उज्यालाे अभियान)

कृषि तथा पशुपंक्षी विकास नभई विनास मन्त्रालय तथा अर्थ नभई अनर्थ मन्त्रालयकाे रुपमा व्यंग्यात्मक ब्यानर प्रदर्शन गर्दै उक्त व्यानर जलाएका हुन् । महेन्द्र राजमार्गकाे कडरिया चाेकमा जम्मा भएका किसानले सरकार र चिनी उद्याेगी विरुद्द नाराबाजी समेत गरेका छन् ।

उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका किसानले शनिबार हरिवनमा उखुको लाक्रा बोकेर नारबाजी सहित जुलुस निकालेका थिए । हरिवन बजारबाट सूरु भएकाे जुलुस ईन्दुशंकर चिनी उद्याेग सामुन्ने पुगेर पुन: हरिवन बजारमै आई विराेध सभामा परिणत भएकाे थियाे ।

आन्दोलनको तयारी स्वरुप शुक्रबार नै हरिवनमा किसानहरुकाे बृहत भेला समेत सम्पन्न भएको थियो । किसान नेताहरुले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्न माग गरेका छन् । त्यस्तै, गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन् ।

नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति र किसान हकहित संरक्षण समितीकाे संयुक्त आयाेजनामा विराेध प्रदर्शन भईरहेकाे छ

धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन् । मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन् ।

चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ पाउनुपर्ने नेपाल उखु उत्पादक महनसंघका अध्यक्ष कपिलमुनी मैनालीकाे भनाई छ । मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५६५ प्रस्ताव गरेपनि अस्वीकार गरिएकाे मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।

गत वर्ष सरकारी अनुदानसहित उखुको मूल्य ६१० रुपैयाँ कायम भएको थियो ।