हरिवन – सर्लाहीमा रहेका दुध उत्पादन तथा प्रशोधन गर्ने सहकारीले शनिबार पालिकाका प्रमुखहरुसँग छलफल गरेका छन् ।
हरिवन नगरपालिकाका प्रमुखको कार्यकक्षमा हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल), ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य, लालबन्दीका नगरप्रमुख बासुदेव अधिकारी, बागमतीकी उपप्रमुख लिलाकुमारी मोक्तानसँग छलफल गरिएको हो ।
जिल्ला दुध उत्पादन एवं प्रशोधन सहकारी संघका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको छलफलले पछिल्लो समय दुध बिक्रीमा भइरहेको समस्यालाई मध्यनजर गरी दुधबाट बन्ने परिकार बनाउने, तीनै तहका सरकारबीच सहकार्य गरी डेरी उद्योग स्थापना गर्नेलगायतका निर्णय भएका संघका जिल्ला सचिव तिलक खड्काले जानकारी दिए ।
समस्याको समाधानका लागि केही दिनअघि गठित सहकारीको संघ र पालिकाका प्रतिनिधि सदस्य रहने गरी कार्यदल बनाउने निर्णय भएको छ ।