logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

भारतीय युवकलाई बाबु बनेर नागरिकता दिलाउने शेख जिलानी जेल चलान


  • उज्यालो अभियान

पूर्पक्षका लागि कारागार चलान भएका शेख जिलानी ।

अभियुक्त शेख चाँद भन्ने शेख मिर अमजाकी आमा तथा मृतक तवसुनकी सौतेनी आमा सकिना खातुन ।

मलंगवा, मंसिर ३० – नक्कली बाबु बनेर भारतीय युवकलाई नेपाली नागरिकता प्रमाणपत्र दिलाएको अभियोगमा एक अभियुक्त कारागार चलान भएका छन् । सर्लाहीको साबिक सक्रौल गाविस-८ हाल कौडेना गाउँपालिका-७ निवासी शेख जिलानी पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।

मतदाता नामावली दर्ता गरिएको निर्वाचन आयोगबाट प्रहरीले निकालेको शेख चाँद भन्ने शेख मिर हमजाको नाममा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नेपाली नागरिकता प्रमाण-पत्र ।

सर्लाही जिल्ला हरिवन नगरपालिका-११, बालगंगाको मुस्लिम बस्ती स्थित कब्रस्थानमा गाडिएको तवसुन खातुनको शव परीक्षण काण्डका अभियुक्त शेख चाँद भन्ने शेख मिर अमजालाई बाबु बनेर नेपाली नागरिकता दिलाएको अभियोगमा जिलानीलाई ईलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरेर मुद्धा प्रकृया अगाडी बढाएको थियो । शुक्रबार जिल्ला अदालत मलंगवामा थुनछेकको बहस सम्पन्न भएपछि जिल्ला न्यायाधिश विष्णु गौतमको ईजलासले जिलानीलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले जानकारी दिए ।

मामालाई बुबा बनाएर नेपाली नागरिकता लिएका आरोपी शेख चाँद भन्ने शेख मिर अमजा ।

तवसुन मृत्यु प्रकरणको प्रहरी अनुसन्धानका क्रममा अभियुक्त बनेका हाल हरिवन निवासी शेख चाँद भन्ने शेख मिर हमजाले नेपाली नागरिकता प्रमाण–पत्र समेत झुठा विवरण दिएर लिएको प्रहरीले पत्ता लगाएको थियो । उनले लिएको नागरिकता प्रमाण-पत्रमा मामालाई बुबा बनाएको देखिएको प्रहरीले दाबी गरेको छ । आमा सकिना खातुनको पहिलो श्रीमान भारतीय नागरिक अब्दुल कादिरका छोरा शेखले जिलानीलाई बुबा बनाएर नागरिकता लिएको देखिएको प्रहरीले जनायो ।

हाल ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमै रहेकी तवसुन मृत्यु प्रकरणकी अभियुक्त शेखकी आमा सकिनाले नागरिकता प्रमाण–पत्रमा बुबाको महलमा नाम लेखिएका शेख जिलानी आफ्नै दाजु भएको बताएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आप्नै बुबा अब्दुल कादिर र अहिलेका झड्केला बुबा शेख ईर्साद भारतीय नागरिक रहेकाले मामा शेख जिलानीलाई बुबा तथा सकिनालाई आमा बनाएर २०७३ साल वैशाख २२ गते शेख चाँदले जिल्ला प्रशासन कार्यालय मलंगवाबाट नेपाली नागरिकता प्रमाण-पत्र लिएका थिए ।

त्यतिखेर सक्रौल गाविस सचिब रहेका रामगुलाम राय यादवले शेखको २०५५ साल वैशाख १० गते जन्म भएको भन्दै प्रतिलिपी जन्मदर्ता दिने र नागरिकता प्रमाण पत्रका लागि सिफारिस गरेको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल ईश्वरपुर नगरपालिका-१५ का वडा सचिबको जिम्मेवारीमा रहेका रामगुलाम, नागरिकता लिने शेख चाँद भन्ने शेख मिर हमजा फरार रहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल राज गिरीले जानकारी दिए । पक्राउ परेका अभियुक्त जिलानीलाई पूर्पक्षका लागि सिन्धुली कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

तवसुन र शेख चाँदबीचको नाता के हो ?

प्रहरीका अनुसार अभियुक्त शेख चाँद मृतक युवती तवसुनका झड्केलो दाजु हुन् । अर्थात सकिना खातुनले तवसुनका बुबा शेख इर्सादसँग विबाह गर्दा पहिलाकै श्रीमानतर्फ जन्मिएका शेख चाँदलाई समेत लिएर आएकी थिईन् । ईर्साद र सकिनाले २०६५ सालतिर बिबाह गरेका हुन् । मृतक तवसुन भने शेख ईर्सादकी जेठी श्रीमति तर्फकी छोरी हुन् ।

प्रहरीका अनुसार एक्कासी पेट दुखेर मृत्यु भएको भन्दै गत कात्तिक २६ गते तवसुनको शव परिवार र स्थानीय मिलेर कब्रस्थानमा दाहसंस्कार (खाडल खनेर गाडेका) गरेका थिए । तर तवसुनको मृत्यु नभई हत्या हुनसक्ने भन्दै सुराकी आएपछि उनको शव मंसिर ३ गते प्रहरीले कब्रस्थानको खाडलबाट निकालेर पोष्टमार्टम गराएको थियो । प्रादेशिक अस्पताल मलंगवामा तवसुनको शव पोष्टमार्टमसँगै प्रहरीले भिसेरा परीक्षणका लागि मुटु, फोक्सो र कलेजोको टुक्रा समेत विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ । युवती मृत्यु प्रकरणमा पनि प्रहरीले कर्तव्य ज्यान मुद्धा चलाउँदा शुक्रबार नै जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलको ईजलासले सकिनालाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

यो पनि पढ्नोस्

कब्रस्थानबाट शव निकालिएकी युवती मृत्यु प्रकरणका अभियुक्त नागरिकता काण्डमा पनि तानिए

कब्रस्थानबाट शव निकालिएकी युवती मृत्यु प्रकरण : सौतेनी आमा कारागार चलान