logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रत्येक हरियो तरकारी सस्तियो, किसान मारमा


  • उज्यालो अभियान

लालबन्दी थोक तरकारी बजार । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – लालबन्दी – बजारमा प्रत्येक हरियो तरकारी सस्तिँदा खेती गर्ने किसान मारमा परेका छन् ।

सर्लाहीका बजारमा अहिले सबैजसो हरियो तरकारीको भाउ आधा भन्दा धेरैले घटेको छ । यहाँका किसानले हिजोआज गोलभेँडा, बोडी, सिमी, खुर्सानी, भान्टा, काउलीलगायत तरकारी फलाएका छन् । यि सबै तरकारीको भाउ ह्वात्तै घट्दा किसानलाई लागत उठाउन पनि मुस्किल परेको छ ।

जिल्लाका किसानले फलाएको गोलभेँडा प्रतिकेजी १२ देखि १५ रुपियाँमा र फूलकोबी (काउली) २० देखि २५ रुपियाँमा बिक्री भइरहेको छ । किसानले थोक बजारमा १२ रुपियाँमा बेचेको गोलभेँडा यहाँकै खुद्रा बजारमा उपभोक्ताले किन्नुपर्दा ३० देखि ३५ रुपियाँ प्रतिकेजी पर्छ ।

यस्तै, किसानले थोक व्यापारीलाई प्रतिकेजी २० देखि २५ रुपियाँमा बिक्री गरेको काउली खुद्रा बजारमा ४० रुपियाँमा बिक्री भइरहेको पाइएको छ । किसानसँग खरिद गरेको भन्दा दोब्बर बढी मूल्य तिरेर उपभोक्ताले हरियो तरकारी किन्नु परिरहेको हो ।

चन्द्रनगर गाउँपालिका–३, का किसान विनोद महतोले दुःख गरेर तरकारी उत्पादन गर्ने आफूहरु तर फाइदा खाने विचौलिया रहेका उज्यालो अभियानसँग बताए । चार कठ्ठा खेतमा काउली लगाउनुभएका महतोले यही भाउमा तरकारी बेच्दा लगानी नै नउठ्ने र विचौलियाले किसानलाई सँधै मार पारिरहेको गुनासो पोखेका छन् ।

जिल्लामा गोलभेँडा र काउलीबाहेक अन्य हरियो तरकारीले पनि उचित मूल्य पाउन सकेको छैन् । यहाँका किसानले सिमी प्रतिकेजी ३५ रुपियाँ, खुर्सानी प्रतिकेजी ४५ रुपियाँ, बोडी प्रतिकेजी ३५ रुपियाँ, भान्टा प्रतिकेजी १५ रुपियाँमा बिक्री गरिरहेका छन् ।

लालबन्दी थोक तरकारी बजारका व्यापारी मोहम्मद उस्मानले बजारमा अहिले प्रत्येक तरकारी धेरै परिमाणमा भित्रिरहेकाले मूल्य घटेको बताए ।