चिताईन् – बाराको बारागढी गाउँपालिकामा आयोजित मधेश प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि सर्लाहीले हात पारेको छ ।
जनशक्ति युवा क्लब कोल्हबी बारालाई २५–२१, २५–२० र २५–१७ को सोझो सेटमा पराजित गर्दै लक्ष्मीनाथ भलिबल तालिम केन्द्र हरिपुर ७ चिताइनबाट सहभागी महिला भलिबल टिमले उपाधि उचालेको हो । जितसँगै बिजेता सर्लाहीले २० हजार नगद, कप, मेडल र प्रमाण–पत्र हात पारेको छ ।
उपबिजेता बाराले भने १० हजार रुपियाँमा चित्त बुझाएको छ । बारा भलिबल सङ्घले बारागढी गाउँपालिकाको सहयोगमा आयोजना गरेको प्रतियोगितामा बारा, पर्सा, रौतहट र सर्लाहीका गरी आठ वटा महिला भलिबल टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सर्लाहीकी नेहा चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी मधेश प्रदेश भलिबल सङ्घको महासचिव रामाशङ्कर चौधरीले जानकारी दिए ।
बाराबाट उपाधि जितेर आएको महिला भलिबल टिमलाई हरिपुर नगरपालिकाले सम्मान गरेको छ । नगरप्रमुख गोपाल पन्जियार, उपप्रमुख निलमदेवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्कीलगायत भएर खेलाडीलाई सम्मान गरेका हुन् ।