केही समयअघि हरिवनका किसान र डेरी संचालकले बिक्री नभएपछि खोलामा लगेर बगाएको दुध । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – दुग्ध विकास संस्थान (डीडीसी) ले तीन महिना भन्दा बढी सयमदेखि दुधको पैसा नदिँदा सर्लाहीका किसान र डेरी संचालक पनि मारमा परेका छन् ।
अहिले यो समस्या देशैभरी बढ्दै गएको छ । डेरी संचालकले किसानबाट उठाउने गरेको दुध सरकारी स्वामित्वमा रहेको डीडीसीको विभिन्न दुध संकलन केन्द्रमा लगेर बेच्ने गरेका छन् ।
डीडीसीले तीन महिना भन्दा बढी समयदेखि डेरी संचालकलाई भुक्तानि नदिँदा यहाँका किसानसम्ममा त्यसको असर परेको हो । डीडीसीबाट पैसा नपाउँदा डेरी संचालकले किसानलाई लामो समयदेखि पैसा दिन सकेका छैनन् । पछिल्लो समय डीडीसीले किसानबाट संकलन गरेर ल्याएको दुध लिनै छाडेको डेरी संचालकको गुनासो छ ।
लालबन्दी नगरपालिका–१, नवलपुरमा डेरी पसल संचालन गर्दै आएका व्यवसायी सुदीप कार्कीले डीडीसीलाई बिक्री गरेको दुधको पैसा नपाउँदा किसानलाई दिन नपाएको बताए । ऋण गरेर केही समयसम्म थेगेपनि डीडीसीले अझै भुक्तानि नगरेकाले अब व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको उनको दुःखेसो छ ।
कार्कीका अनुसार डीडीसीले पछिल्ला दिनमा दुध लिन नमान्दा किसानबाट संकलन गरेर ल्याएको दुध खेर जाने अवस्था आएको छ । आर्थिक मन्दी रहेको अवस्थामा दुध बिक्री नहुँदा दही, पनिर लगायतका परिकार बनाए पनि त्यो समेत बिक्री नभएको उनले गुनासो गरे ।
पहिले–पहिले १५–२० दिनदेखि एक महिनाभित्रमा डेरी संचालकलाई दुधको पैसा दिने डीडीसीले अहिले आएर तीन/चार महिनासम्म भुक्तानि गर्न सकेको छैन् ।
दुध बिक्री नभएको र पुरानो पैसा समेत नपाएको भन्दै केही साताअघि हरिवन क्षेत्रका डेरी संचालकले सडकमै दुध पोखेका थिए । हरिवन नगरपालिका–११, मा डेरी संचालन गर्ने व्यवसायी सुरेश भट्टराईले गएको भदौदेखि डीडीसीबाट पैसा नपाएको गुनासो गरेका छन् ।
आफूहरुले संकलन गरेर दिएको दुधको पैसा नपाउँदा किसानलाई पनि पैसा दिन नपाएको भट्टराईको भनाई छ । व्यावसायिक रुपमा फर्म खोलेर गाई, भैँसी पाल्ने किसानले सोझै डीडीसीको दुध संकलन केन्द्रमा लगेर दुध बिक्री गर्ने गरेपनि एक/दुईवटा गाई, भैँसी पाल्ने किसानले भने डेरीमा लगेर बेच्ने गरेका छन् ।
दैनिक डेरीलाई दुध बेचेर घरखर्च टार्ने किसान डीडीसीको लापरवाहीले मारमा परेका छन् । ईश्वरपुर नगरपालिका–१२, घारिबथानकी किसान अम्बिका खड्काले पहिले झैँ दुध बिक्री गरेपछि महिनैपिच्छे पैसा पाउन छाडेको बताए ।
पैसा खाचोँ भएका बेला डेरी संचालकले तुरुन्त दिने गरेको भएपनि अहिले त महिनौँसम्म पनि पैसा नपाएको उनले गुनासो गरिन् ।
दुध बिक्री गरेको लामो समयसम्म पैसा नपाउने र उत्पादित दुध बिक्री नहुने समस्याले गाइँ, भैँसीको दुध बेचेर जीविकोपार्जन गर्ने जिल्लाको ग्रामीण भेगका सयौँ किसान मारमा परेका छन् ।