बरहथवा – गरुडा निवासी संजय साह मित्रको “बरहथवा परिचय” र “महानन्द झा” पुस्तक शनिबार बिमोचन भएको छ ।
सर्लाहीको बरहथवा नगरपालिकामा आयोजित एक कार्यक्रममा निवर्तमान रक्षामन्त्री तथा सर्लाहीका प्रतिनिधि सभा सदस्य हरि प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा पुस्तकको विमोचन गरिएको हो । पुस्तकका लेखक मित्रले सर्लाहीको ऐतिहासि बजार बरहथवासँग सम्वन्धित यथार्थ एवं भरपर्दो स्रोतहरुबाट प्राप्त जानकारीलाई विश्लेषण गरी पुस्तक प्रकाशन गरेको बताए ।
यो पुस्तक लेख्नलाई आफूले एक रुपियाँ पारिश्रमिक नलिएको उनले बताए । पुस्तकमा बरहथवाको इतिहास र बजार राख्न सुरुमा निकै पहल गर्नुभएका महानन्द झाको जीवनीबारे चर्चा गरिएको छ ।
“रौतहट परिचय” बाट पुस्तक लेख्न सुरु गरेका मित्रले “नेपालमा बज्जिका भाषा”, “बज्जिका जिन्दावाद”, “छठ पवनी” सहित अन्य २५ भन्दा बढी पुस्तक लेखेका छन् ।
निवर्तमान रक्षामन्त्री उप्रेतीले बरहथवाको उत्पत्ति र विकासबारे व्यवस्थित किसिमले पुस्तक तयार पारेर अनेक आधिकारिक जानकारी समाविष्ट गरी लेखक मित्रले बरहथवावासीलाई गुण लगाएको बताउनुभयो ।