logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मैत्रीपूर्ण फुटबलमा लालबन्दी नगरपालिकाले लालबन्दी जेसीजलाई हरायो


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी जेसीज वर्ष–२०२३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज (शनिबार) भएको मैत्रीपूर्ण फुटबल खेलमा लालबन्दी नगरपालिकाको टिमले लालबन्दी जेसीजको टिमलाई पराजित गरेको छ ।

खेलको ५ औँ मिनेटमै खाएको आत्मघाती गोल नै निर्णायक बन्दा आयोजक लालबन्दी जेसीजले खेलमा पराजय बेहार्नुपरेको हो । लालबन्दी नगरपालिकाको तर्फबाट नगरप्रमुख बासुदेव अधिकारी र लालबन्दी जेसीजको तर्फबाट अध्यक्ष मनोज बख्रेलको नेतृत्वमा लालबन्दी नगरपालिका–६, स्थित राधाकृष्ण खेल मैदानमा ५० मिनेटको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरिएको आयोजक लालबन्दी जेसीजले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख अधिकारीले यस्ता खेलकुदका कार्यक्रमले आत्मियताका साथै सकारात्मक सन्देशको संचार हुने बताए । लालबन्दी जेसीज वर्ष–२०२३ ले कार्यकारिणी उपाध्यक्ष सुनिता खरेल थपलियाको संयोजकत्वमा ७ वटा फरक–फरक कार्यक्रमसहित जेसीज सप्ताह मनाएको छ । जेसीज सप्ताहको आजै समापन समेत गरिएको अध्यक्ष बख्रेलले बताए ।

उनका अनुसार जेसीज सप्ताह अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा सरसफाई तथा गमला हस्तान्तरण, पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण तथा एक छाक भोजन, लालबन्दी गुरुकुलमका बटुकलाई शैक्षिक सामग्री वितरण, जनज्योति माध्यमिक विद्यालयमा किशोरी शिक्षा एवं सुरक्षा सम्वन्धी अभिमुखीकरण, सोही विद्यालयमा साइबर सुरक्षा एवं अपराध न्यूनिकरणका लागि अभिमुखिकरण र मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरिएको छ ।