लालबन्दी – आख्यानकार रामलाल जोशीको ‘बाआमा’ आख्यानले ५० हजार राशिको लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८० प्राप्त गरेको छ ।
शुक्रबार लालबन्दी नगर वाङ्मय परिषद्द्वारा पुरस्कार समर्पण, पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रम–२०८० गरी जोशीलाई दोसल्ला ओढाएर नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट जोशीकृत ‘बाआमा’ आख्यानलाई पुरस्कारका लागि छनोट गरिएको थियो ।
यस्तै, परिषद्ले स्थानीय प्रतिभा पुरस्कारबाट साहित्यकार तथा अन्वेषक देवराज पौडेललाई सम्मान गरेको छ । उनले नेपाली साहित्यमा दिएको योगदानको कदर गर्दै नगद १० हजार रुपैयाँसहित सम्मान पत्रबाट सम्मान गरिएको लालबन्दी नगर वाङ्मय परिषद्का सचिव सुमन घिमिरे (अग्रिम) ले जानकारी दिए । प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको जीवनवृत्तमा आधारित पुस्तक ‘वासुदेवशरण कोइरालाका नौ दशक’ नामक पुस्तकसमेत उक्त कार्यक्रममा विमोचन गरिएको छ ।
लालबन्दी नगर वाङ्मय परिषद्द्वारा प्रकाशन गरिएको उक्त पुस्तक लेखक देवराज पौडेलले लेखेका थिए । लालबन्दी नगरपालिकाका प्रमुख तथा उक्त वाङ्मय परिषद्का प्रमुख संरक्षक बासुदेव अधिकारीको अध्यक्षता र लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीको संयोजकत्व तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको प्रमुख आतिथ्यमा जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा सम्मान समारोह भएको सचिव अग्रिमले बताए ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा साहित्यकार तथा मधेश प्रज्ञा–प्रतिष्ठानका कुलपति रामभरोस कापर भ्रमर, डा. नवराज लम्साल, प्रसिद्ध सञ्चारकर्मी अच्युत घिमिरे (बुलबुल), गीतकार तथा बुकहिल प्रकाशनका प्रबन्धक भूपेन्द्र खड्का, बकैया साहित्य प्रतिष्ठान मकवानपुरका संयोजक दीपक गौतमलगायतका विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो अवसरमा परिषद्ले प्रसिद्ध सञ्चारकर्मी अच्युत घिमिरे (बुलबुल) र प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालालाई अभिनन्दन गरेको परिषद्का कोषाध्यक्ष तथा गजलकार विवश पौडेलले जानकारी दिए ।
लालबन्दीका नगर प्रमुख तथा परिषद्का प्रमुख संरक्षक अधिकारीले प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी साहित्य पुरस्कारका लागि १० लाख रुपियाँको अक्षय कोष स्थापना गरेको र वार्षिक बजेट विनियोजन गरेर परिषद्को नाममा भवन निर्माणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।