सुनिल ठाकुर,गोडैता – सर्लाहीको गोडैता नगरपालिकामा आयोजित तेस्रो मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ११ सिसौटियाले जितेको छ ।
आज (बुधबार) गोडैतास्थित वेणी भोला नमूना माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित फाइनल खेलमा वडा नं. २ लाई ८३ रनले पराजित गर्दै सिसौटियाले उपाधि चुमेको हो । जितसगैं विजेता सिसौटियाले नगद २५ हजार, ट्रफी र क्रिकेट किट हात पार्यो ।
त्यस्तै उपविजेता बनेको वडा नं. २ बेल्बाले नगद १५ हजार, ट्रफी र क्रिकेट किटमा चित्त बुझाएको छ । टस हारेर ब्याटिङ गरेको सिसौटियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनायो ।
सिसौटियाका लागि सुवास पण्डितले नटआउट रहँदै सर्वाधिक १ सय १८ रन बनाए । ६७ बल खेलेका पण्डितले ११ छक्का र १० चौका प्रहार गरे ।
बेल्बाका लागि सदाम हुसैनले सर्वाधिक २ विकेट लिए । २ सय ९ रनको विजयी लक्ष्य पाएको बेल्बाले सुरुदेखि नै कमजोर खेल प्रदर्शन गर्यो ।
बेल्बाले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २५ रन मात्रै बनाउन सक्यो । बेल्बाका लागि सदाम हुसैनले सर्वाधिक २७ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन ।
सिसौटियाका लागि सरोज यादवले सर्वाधिक ५ विकेट लिए । खेलको म्यान अफ द म्याच र म्यान अफ द सिरिज सिसौटियाका सुवास पण्डित भएका छन् ।
प्रतियोगितामा नगरपालिकाका १२ वटै वडाका टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता तथा उपबिजेतालाई गोडैताका मेयर देवेन्द्र यादव, बलराका मेयर रामाशंकर प्रसाद कुशवाहा लगायत भएर पुरस्कार वितरण गरेका छन् ।