हरिपुर – हरिपुर नगरपालिका–२, हात्तिसार खेल मैदानमा आज (शनिबार) बाट सुरु भएको प्रथम वडा कप फुटबल–२०८० मा आयोजक गौरीशंकर क्लबले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा रजा युवा क्लब हरिपुर ५ मजुर्वालाई एकका विरुद्ध दुई गोल गर्दै आयोजक गैरीशंकर क्लबको बि टिमले प्रतियोगितामा सुःखद् सुरुवात गरेको हो । आजको खेलमा आयोजक क्लबको जर्सी नम्वर ६ का खेलाडी मुकेश धामी म्यान अफ दी म्याच बनेका छन् ।

हरिपुर नगरपालिका २ को सहयोगमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा हरिपुर नगरपालिकाभित्रका १७ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले २० हजार र उपबिजेताले १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले उल्लेख गरेको छ ।
प्रतियोगिताको आज दिउँसो गौरीशंकर क्लबका सदस्य विमलकुमार पोखरेलको अध्यक्षता तथा हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा नेकपा एमाले हरिपुर नगर कमिटीका अध्यक्ष माधवकुमार सरकार, नेकपा एकीकृत समाजवादी पार्टीका नगर कमिटी अध्यक्ष चूडामणि धामी, सोही पार्टीका नेता सनोज दास, उद्योग वाणिज्य संघ हरिपुरका अध्यक्ष शंकरप्रसाद दाहाल, गौरीशंकर क्लबका पूर्व अध्यक्ष डम्बरबहादुर कार्की, ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवी न्यौपाने, पूर्व फुटबल खेलाडी धर्मबिक्रम कार्कीलगायतको आतिथ्यता रहेको थियो ।