हरिपुर – सर्लाहीका किसान दशैँ लगत्तै पाकेको धान बाली भित्र्याउने काममा ब्यस्त भएका छन् ।
पहेँलपुर भई झुकिसकेका धान भित्र्याउनका लागि किसानलाई चटारो परेको हो । केही दिन दशैँ मनाउन ब्यस्त भएका किसान अहिले आ–आफ्नो खेतमा देखिएका छन् । मुख्य चाड मानेपछि किसानलाई धान काट्ने, बोझा बाध्ने र थ्रेसर लगाउने काममा भ्याइनभ्याई परेको छ ।
बैदेशिक रोजगारीमा युवा पुस्ता पलायन हुनेक्रम तीव्र बन्दा खेतबारीमा काम गर्ने कामदार पाउन निकै मुस्किल छ । दशैँले छोपिसकेका कारण धान काट्न केही दिन ढिला गरेका किसान अहिले जसोतसो कामदार जुटाएर धान काट्न लागिपरेका हाम्रा संवाददाताले जनाएका छन् ।
धान झार्न खेतखेतमा थ्रेसर पुगिरहेका छन् । धान काट्नका लागि मेसिन भित्रिएपनि सबै किसानको पहुँचमा सो मेसिन पुग्न सकेको छैन् ।
यो वर्ष धानको फलाई मध्यम खालको रहेको किसान बताउँछन् ।
दशैँअघि नै धान थन्काएका किसान भने खेत जोताएर तोरीलगायत अन्य बालीनाली लगाउने काममा लागेका छन् ।