बिजेतालाई पहिलो शिल्ड हस्तान्तरण गरिँदै ।
लालबन्दी – लालबन्दी नगरपालिका वडा नं. १६ परवानिपुरले नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ ।
यो वर्ष वडा नं. ८ मा आयोजित वडाध्यक्ष कप–२०८० को शुक्रबार सम्पन्न फाइनल खेलमा वडा नं. २ नवलपुरलाई २–० गोलले पराजित गर्दै वडा नं. १६ ले तेस्रो पटक उपाधि कब्जा गरेको हो । वडा नं. १६ को जितमा सतिस थापा र शुशान्त थापा (शोभित) ले गोल गरे । जितसँगै वडा नं. १६ ले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
वडा नं. १६ का वडाध्यक्ष गणेशबहादुर थापाले आफ्नो वडाले उपाधिमाथि तेस्रो पटक जित अर्थात् ह्याट्रिक जमाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिएका छन् । १६ नं. वडाका खेलाडीले निकै छरितो खेल पस्किएको भन्दै फाइनल खेल हेर्न उपस्थित दर्शकले प्रशंसा गरेका थिए ।

खेल हेर्न खचाखच गरी उपस्थित दर्शक ।
परवानिपुरले पहिलो हाफको अतिरिक्त समयमा सतिस थापाको गोलबाट खेलमा अग्रता बनायो । दोस्रो हाफ सुरु भएको केही मिनेटमै सुशान्त थापा (शोभित) ले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
सानो कद भएका तथा कलिला उमेरका वडा नं. १६ का खेलाडीले वडा नं. २ को पोष्टमा बारम्बार आक्रमण बुनी रहे । पहिलो हाफपछि सुधारिएको खेल प्रदर्शन गरेपनि वडा नं. २ ले गोल भने गर्न सकेन ।
उपबिजेता वडा नं. २ ले नगद ५० हजारसहित दोस्रो शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । प्रतियोगितामा हिजो भएको तेस्रो स्थानको खेलमा वडा नं. १७ लाई २–१ गोलले पराजित गर्दै वडा नं. ६ ले तेस्रो भई नगद २५ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा बिजेता वडा नं. १६ का गोलरक्षक सुजन वि.क. उत्कृष्ट गोलरक्षक, वडा नं. १६ का सागर स्याङतान उत्कृष्ट डिफेण्डर, वडा नं. १६ कै सुशान्त थापा (शोभित) उत्कृष्ट स्ट्राइकर, उपबिजेता वडा नं. २ का रोहित बोम्जन उत्कृष्ट डिफेण्डर र वडा नं. ६ का सनिल स्याङतान सर्वाधिक गोलकर्ता (५ गोल गर्ने) लाई नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको बिजेता, उपबिजेता, तेस्रो हुने टिम र उत्कृष्ट खेलाडीलाई उपमेयर कल्पनामाया पाख्रिन, प्रतियोगिता आयोजना भएको वडाका वडाध्यक्ष शुक्रबहादुर पाख्रिन, अन्य जनप्रतिनिधि, फुटबल खेलसँग जोडिएका व्यक्तिलगायत भएर पुरस्कार वितरण गरेका छन् ।
वडाध्यक्ष पाख्रिनले लालबन्दी नगरपालिकाको १७ वटै वडाको सहभागितामा असोज २४ गतेदेखि सुरु भएको यस प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको बताए । प्रतियोगिताको समापन समारोहमा १६ वर्षमुनिको राष्ट्रिय टिमका खेलाडी प्रशान्त तामाङ, १९ वर्षमुनिको राष्ट्रिय टिमका खेलाडी द्वय दीपक थापा मगर र सविन स्याङतान तथा राष्ट्रिय टिमका पूर्व खेलाडी आदित्य चौधरीलाई आयोजकको तर्फबाट सम्मान गरिएको फुटबल प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।
लालबन्दी नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत वडा नं. ८ आयोजक र एट स्टार युवा क्लब सह–आयोजक रहेको प्रतियोगितामा शुक्रबार फाइनलमासहित सम्पूर्ण दिन दर्शकको बाक्लो उपस्थिति देखिएको प्रचारप्रसार समितिका संयोजक सन्जिव कुमार श्रेष्ठले उज्यालो अभियानसँग बताए ।