प्रतिकात्मक तस्बीर ।
लालबन्दी – अनुगमन र नियमित नियमनको अभावमा दशैँकै मुखमा महँगी बढ्दा नागरिक मारमा परेका छन् ।
वर्षदिनको मुख्य चाड दशैँ सङ्घारमै आएसँगै खाद्यान्न, मरमसला, कपडाजस्ता सरसामग्री किनमेलको बेला भइसकेको छ । तर बजारको महँगीले सामान्य आयस्रोत भएका परिवार खर्च कसरी धान्ने ? भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।
लालबन्दी नगरपालिका ४, हरिभवन निवासी शेखर खड्काले चाडपर्वमा समेत अनुगमन हुन नसक्दा सर्लाहीका बजारमा हरेक सरसामग्रीमा मनपरी मूल्य लिइएको गुनासो गरे । जिल्लामा लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलङ्गवा, हरिपुर, गोडैतालगायत मुख्य बजार क्षेत्र र सीमापारी भारतीय बजारमा पनि दशैँलगायत मुख्य चाडवाडका लागि किनमेल गर्नेको चहलपहल बढेको छ ।
आयआर्जन कम तर महँगी अचाक्ली बढ्दा अधिकांशको व्यवहार प्रभावित बन्न पुगेको देखिन्छ । बजारमा अहिले हरेक सरसामग्रीको मूल्य अत्यधिक बढेको छ । चाडबाडकै बेला कालोबजारी गर्नेहरु सक्रिय हुँदा सर्वसाधारण झनै मारमा परेका छन् ।
कालोबजारीका कारण बजार अत्यधिक महँगो हुँदा समेत अनुगमनका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायले कुनै चासो देखाएका छैनन् । ऋण लिएर दशैँ मान्ने वर्गका मानिसलाई महँगीले थिलथिलो पारेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले अब त स्थानीय तहले पनि कालोबजारी नियन्त्रणमा अग्रसरता देखाउनुपर्ने बताए । जिल्लाका विभिन्न व्यापारिक केन्द्रमा बेलाबेलामा अनुगमन टोली पुग्दा व्यवसायीहरु पसल नै बन्द गरेर फरार हुने परिपाटी रहेको छ ।