मलंगवा – सर्लाहीमा क्रियाशील प्रमुख ६ राजनीतिक दलले सबै एकजुट भई सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न आ–आफ्नो तर्फबाट लाग्न अपिल गरेका छन् ।
जिल्लाका प्रमुख ठूला ६ दल : नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र लोसपाले मंगलबार संयुक्त अपिल जारी गर्दै संयमित भएर सामाजिक सन्जालको प्रयोग गर्न, उत्तेजित पार्ने, सामाजिक सदभाव भडकिने किसिमको क्रियाकलाप नगर्न, नगराउन अनुरोध गरेका हुन् । विगत केही समयदेखि जिल्लाको सदरमुकाम मलंगवा र आसपासका क्षेत्रहरुमा भइरहेको सामाजिक सद्भाव खलबल्याउने किसिमको गतिविधिले एकदमै चिन्तित तुल्याएको सामूहिक अपिलमा उल्लेख छ ।
कांग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, एमाले जिल्ला अध्यक्ष राजनारायण साह, माओवादीका जिल्ला इन्चार्ज अच्यूतम प्रसाद काफ्ले, जसपाका जिल्ला अध्यक्ष वीरेन्द्रकुमार राय, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा र लोसपाका जिल्ला अध्यक्ष रामप्रसाद रायले हस्ताक्षर गरी जारी गरेका अपिलमा उत्तेजित एवं अराजक गतिविधिले धार्मिक जातिय आदि हिंसा भडकाई आफ्नो दुनो सोझ्याउने केही व्यक्ति बाहेक तपाई हामी सामाजिक मूल्य मान्यतामा चल्ने, अन्य धर्म, सम्प्रदाय, अस्थाको सम्मान गर्नेलाई कहिले राम्रो गर्दैन भनी उल्लेख छ ।