बयलवास – सर्लाहीको बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको मंगलबार २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बेनीबहादुर कार्की देशबाहिर रहेका कारण उपाध्यक्ष बाल्मिकी सिंहको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा संस्थाकै प्राङ्गण ईश्वरपुर नगरपालिका ६ बयलवासमा वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै संघीय सांसद चौधरीले संकटकालमा बयलवास बजारबाट वाणिज्य बैंकधरी भागेको अवस्थामा स्वस्तिकले यहीँ अडिएर अहिलेसम्म निरन्तर उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै संस्थाको थप प्रगतिको कामना गरे ।
सभाका विशिष्ठ अतिथि मधेश प्रदेशसभाका सदस्य उपेन्द्र महतोले जो सुकैले बचतको रकम जुटाएर मात्रै खर्च गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए । साधारण सभाको उद्घाटन सत्रमा जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष मन्दिरा आचार्य, नेफ्स्कूनका कार्यक्रम अधिकृत राजेन्द्र ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
साधारण सभामा संस्थाले बचतकर्ता, उद्यमीलगायतलाई नगदसहित प्रमाण–पत्रले सम्मान गरेको व्यवस्थापक विनोदकुमार थापाले जानकारी दिए । थापाका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ६४ लाख १० हजार ८०६ रुपैयाँ मुनाफा गरेको संस्थाले आफ्ना शेयर सदस्यलाई ९ प्रतिसत लाभांश वितरण गर्ने निर्णय गरेकोे छ ।
साधारण सभाकै अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान समेत गरेका व्यवस्थापक थापाले जानकारी दिए ।