logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा हतियारधारी समूहद्वारा लुटपाट, घरधनीमाथि आक्रमण


  • उज्यालो अभियान

लुटपाट भएको घर । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – लालबन्दी नगरपालिका–५, शान्तिटोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ ।

वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर लुटपाट भएको हो । मुखमा रुमाल बाँधेर आएका ५/६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सरसामग्री लुटेर लगेका प्रहरीले जनायो ।

लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते भएका छन् । उनको टाउकोमा चक्कु प्रहार भएको छ ।

घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । घरधनी ठाकुर केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए ।

सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको उज्यालो अभियानसँग बताए । “घटनाको अनुसन्धानका लागि जिल्लाबाट समेत अनुसन्धान टोली खटिएको छ, लालबन्दीका इन्स्पेक्टरको नेतृत्वमा घटना लगत्तै प्रहरी परिचालन भइरहेकै छ,” डीएसपी थारुले भने । उनका अनुसार घटनास्थलबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको छ ।

घरको कमाउण्डवालमा लगाइएको ग्रिल नाघेर हतियारधारी समूह घरभित्र प्रवेश गरेका थिए । घरको भान्सा तथा घरसँगैको धान खेतमा रगतका टाटा देखिएका छन् । भर्खरै बसेको बस्ती क्षेत्रमा लुटपाटको घटना भएको हो ।