लालबन्दी – सर्लाहीमा “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” आज (मंगलबार) बाट सुरु भएको छ ।
पार्टीको केही साताअघि सम्पन्न केन्द्रिय कमिटी बैठकले तीन महिनासम्म देशैभर यो अभियान संचालन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप आज सर्लाहीमा लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी पार्टी प्यालेसमा अभियान अभिमुखिकरण कार्यक्रम आयोजना गरी तीन महिने अभियानको प्रारम्भ गरिएको हो ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा पार्टीका केन्द्रिय सचिव एवं मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलको प्रमुख आतिथ्यतामा अभियानको शुभारम्भ गरिएको हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा भर्खरै सर्लाही जिल्ला इन्चार्जको समेत जिम्मेवारी पाएका राजु खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा महोत्तरी जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएका केन्द्रिय सदस्य अच्यूतम काफ्ले, केन्द्रिय अनुशासन आयोगकी शशीकला दाहाल, केन्द्रिय सदस्य दीप बहादुर योन्जन, केन्द्रिय सदस्य सीता दाहाललगायत पार्टीका अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यो अभियान लिएर अब पार्टीका नेताहरु गाउँ–गाउँमा पुग्ने माओवादी केन्द्र लालबन्दीका अध्यक्ष लेखराम जर्गा मगर (अर्जुन) ले जानकारी दिए ।