मलंगवा – २१० औँ भानु जयन्तीका अवसरमा शुक्रबार सर्लाही सदरमुकाम मलङ्गवामा खुल्ला बहुभाषिक कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल मिथिला प्रज्ञा प्रतिष्ठान मलङ्गवासँग समन्वय गरी मलङ्गवा नगरपालिकाले पहिलो पटक भानु जयन्ती मनाउँदै खुल्ला कविता वाचन प्रतियोगिता गरेको हो । प्रतियोगितामा चन्द्रशेखर प्रसाद रस्तोगी पहिलो, सिंहेश्वर सिंह दोस्रो र सन्तोष कर्ण तेस्रो भएका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुने स्रष्टालाई क्रमश : दस हजार, सात हजार र पाँच हजार नगद तथा प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको नगरपालिकाले जनाएको छ । प्रतियोगितामा २२ जना स्रष्टाले सहभागिता जनाएका थिए । त्यसबाहेक प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमसहित अन्य सर्जकले समेत कविता वाचन गरेर सुनाए ।
स्थानीय स्रष्टालाई पोत्साहन गरी बहुभाषिक प्रतिभा, भाषा र संँस्कृतिको संरक्षण गर्ने उद्देश्यले कविता वाचन प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा मधेश प्रदेशसभाका सदस्य कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको संयोजन शिक्षा शाखाका प्रमुख प्रमोद मण्डल तथा सञ्चालन सूचना अधिकारी राजकुमार अधिकारीले गरेका थिए ।
कविता वाचन प्रतियोगिताको निर्णायकमा डिल्लीरमण भट्टराई, सन्जय सुदामा र गणेशकुमार लाल रहेका छन् ।