logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा भर्खर ५ प्रतिसत रोपाइँ, किसान पर्याप्त वर्षाको प्रतिक्षामा


  • उज्यालो अभियान

लालबन्दी ३ स्थित जब्दीमा रोपाइँका लागि आलिभित्ता गर्दै गरेका एक मजदुर । (तस्बीर : जनक कार्की)

लालबन्दी – मध्य असार भइसक्दा समेत सर्लाहीमा यो वर्ष भर्खर पाँच प्रतिसतको हाराहारीमा मात्रै धान रोपाइँ भएको छ ।

पर्याप्त वर्षा हुन नसक्दा जिल्लामा सिँचाई सुविधा रहेको क्षेत्रमा मात्रै फाट्टफुट्ट रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द यादवले बागमती र मनुष्मारा सिँचाई नहरको पानी लाग्नै क्षेत्रमा मात्रै धान रोपाइँ सुरु भएको जानकारी दिए ।

“सिँचाई सुविधा रहेको क्षेत्रमा भर्खर पाँच प्रतिसतको हाराहारीमा रोपाइँ भएको छ,” कृषि ज्ञान केन्द्रका प्रमुख यादवले भने,“ एक झर पर्याप्त वर्षा भइदिए सबैतिर रोपाइँ सुरु हुन्थ्यो ।” कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा ४३ हजार ५०० हेक्टर जग्गामा धान खेती हुन्छ ।

यहाँको अधिकांश भू–भागमा आकाशे वर्षा कुरेर रोपाइँ गरिन्छ । पश्चिमी र केही दक्षिणी भेगमा बागमती र मनुष्मारा सिँचाईको नहरबाट पानी लाग्छ ।

यो वर्ष जेठको खडेरीले सुरुमा राखेको धानको ब्याड सुकेर नष्ट भएपछि अधिकांश किसानले दोहो¥याएर ब्याड राखेका छन् । दोहो¥याएर राखेको ब्याड पनि रोप्नका लागि तयार भइसकेको तर पर्याप्त आकाशे वर्षा हुन नसक्दा किसान निराश बनेका छन् ।

किसानले बाँध कसेर सिँचाई गर्ने यहाँको लखन्देही, कालिञ्जोर, फूलजोर, बाँकेलगायतका खोला सुक्खा छन् । लालबन्दी नगरपालिका–१७, रानिगञ्जका किसान गोपाल अधिकारीले रोपाइँका लागि पर्याप्त आकाशे वर्षाको प्रतिक्षामा बसेको बताए ।

“केही किसानले पप्पसेट चलाएर पनि रोपाइँ गर्न सुरु गरेका छन् नत्र त अधिकांश किसानले खेतमा जम्ने गरी पानी परेपछि मात्रै रोपाइँ सुरु गर्छन्,” अधिकारीले भने, “बिजुली पुगेको ठाउँमा बत्तीबाट पप्पसेट चलाउन सहजै हुन्छ तर बत्ती नपुगेको ठाउँमा डिजेलबाट चलाउँदा असाध्य महँगो पर्न जान्छ ।” यस क्षेत्रमा केही दिनदेखि हल्का वर्षा भइरहे पनि भल बग्ने गरी पानी पर्न सकेको छैन् ।

अहिले परेको स्यार्रसुर्र पानीले मकै, उखुलगायतका बालीलाई भने फाइदा नै गेरेको किसानले बताएका छन् । धान रोपाइँका लागि प्रतिक्षा गरेअनुसार पर्याप्त पानी नपर्दा किसान निराश छन् ।

ठूलो वर्षा भइदिए यहाँका किसान रोपाइँ सुरु गर्ने तयारीमा छन् । धानको ब्याड तयार भइसकेको छ ।

धेरैजसो किसानले रोपाइँ गर्न आलीभित्ता समेत गरिसकेका छन् । कतिपयले आलिभित्ता गर्ने मजदुर नै पाएका छैनन् । सर्लाहीमा २÷३ दिनदेखि सामान्य झरी मात्रै परिरहेको छ । यसले गर्मीबाट केही राहत मिलेपनि रोपाइँ गर्ने सुरसार कसेका किसानलाई भने निराश बनाइरहेको छ ।

अहिले असारको मध्ययाममा सबैतिर धमाधम रोपाइँ हुनुपर्नेमा पानी पर्न नसक्दा खेतीयोग्य फाँट सुक्खा देखिएका छन् । स्थानीय तहले सिँचाईका लागि कुनै प्रवन्ध नमिलाएको भन्दै किसानले आक्रोश पोख्ने गरेका छन् ।