हरिपुर – ‘जलबायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि’ भन्ने नाराका साथ शुक्रबार २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सर्लाहीमा पनि मनाइएको छ ।
विभिन्न पालिका तथा संघसंस्थाले यो दिवस मनाएका हुन् । सदरमुकाम मलंगवा नगरपालिकाको आयोजनामा वडा नं. २ स्थित सामुहिक खेती स्थलमा ओरेक नेपालसँग समन्वय गरी मलंगवा नगरपालिकाले राष्ट्रिय धान दिवस मनाएको छ । कार्यक्रममा मेयर नागेन्द्र प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित जिल्लाका विशिष्ट व्यक्तिहरु सहभागी भएर धान रोपेका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए ।
हरिपुर नगरपालिका २ मा नवयुग कृषक समूहको आयोजना तथा नगरपालिकाको कृषि शाखाको सहयोगमा मेयर गोपाल पजियार, उपमेयर निलमदेवी यादवलगायत सहभागी भई धान दिवस मनाइएको छ । उता, हरिवन– ४ पटौनमा रहेको हाम्रो कृषि सहकारी संस्थाले राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार सामूहिक धान रोपाइँ गरेको छ ।
यस अवसरमा संस्थाका अध्यक्ष तिलकबहादुर खड्काको झण्डै १० कठ्ठा जग्गामा धान रोपाइँ गरिएको हाम्रो कृषि सहकारी संस्थाका कार्य समिति सदस्य सुभाष श्रेष्ठले जानकारी दिए । यसैगरी, धान दिवसकै अवसरमा ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिडे«ेनसँग समन्वय गरी समुन्नति परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिका ३ भक्तिपुरमा रहेको जनजागृति कृषक समूहलाई एक थान पावर टेलर (हाते ट्याक्टर) प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष गोमादेवी न्यौपाने, उपाध्यक्ष विष्णु चालिसेलगायत भएर ईश्वरपुरकी मेयर रन्जितादेवी चौधरीको प्रमुख आतिथ्यतामा संस्थाका अध्यक्ष कुमार गिरीलाई उक्त ट्याक्टर हस्तान्तरण गरेका हुन् । यस्तै, नेपाली कांग्रेस निकट किसान महासंघ नेपाल सर्लाहीले लालबन्दी १७ रानिगन्जमा धान दिवस कार्यक्रम गरेको छ ।
किसान महासंघका जिल्ला अध्यक्ष विष्णुमणि घिमिरेको अध्यक्षता तथा कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा धान रोपी हिलो खेल्दै दिवस मनाइएको हो । कार्यक्रममा कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण राय, संविधान सभाका सदस्य रामचन्द्र चौधरी, महाधिवेशन प्रतिनिध दीपक अधिकारी, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, नेताहरु विनोद खनाल, युवराज देवकोटा, मुकुन्द थपलिया, कुवेर आचार्यलगायतको उपस्थिति थियो ।
यस्तै, नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ सर्लाहीले बरहथवा नगरपालिका १५ प्रिपाभित्तामा राष्ट्रिय धान दिवस मनाएको छ । पूर्व मन्त्री हरि उप्रेती, बरहथवाकी मेयर कल्पना कटुवाल, उपमेयर रामबाबु साह, एमालेका रेवती पन्त, रामविश्वास रायलगायतको सहभागिता रहेको थियो ।