मलंगवा – सर्लाहीका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले जेठ २१ गतेदेखि शुक्रबारसम्म शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवामा धर्ना दिएका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समिति सर्लाहीले केन्द्रबाट तय भएको आन्दोलनको कार्यक्रम अन्तर्गत विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धि र दरबन्दी कायम हुनुपर्ने माग राख्दै छ दिनसम्म शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिएको हो । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) अत्यन्त न्यून पारिश्रमिक लिएर वर्षौदेखि काम गर्दै आइरहेका छन् ।
अनुदान कोटामा नियुक्ति पाएर कार्यरत उनीहरुले दरबन्दी कायम हुनुपर्ने र जीवनयापन गर्न पुग्ने गरी तलब सुविधा वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गर्न थालेको वर्षौ भइसकेको छ तर उनीहरुको माग सम्वोधन हुन सकेको छैन् । छ दिनसम्म निरन्तर शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना बस्दा समेत मागबारे कुनै सुनुवाई नभएपछि अब काठमाडौंमा हुने केन्द्रिय स्तरको रिले अनशनमा सरिक हुन काठमाडौं जाने निर्णय गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् सर्लाहीका अध्यक्ष नारायण प्रसाद यादवले जानकारी दिए ।
भोली बेलुका प्रत्येक पालिकाबाट कम्तीमा पनि पाँच जना विद्यालय कर्मचारी रात्रिबस चढेर काठमाडौं जाने तयारी गरिएको उनले बताए । जिल्लामा छ दिनसम्म धर्ना बसेर आजै दिउँसो सदरमुकाम मलङ्गवामा र्याली समेत निकालिएको नेपाल विद्यालय कर्मचारी परिषद् सर्लाहीका सदस्य भिम खड्काले बताए ।
भोली काठमाडौं जाने विद्यालय कर्मचारी देशभरका अन्य सहकर्मीसँगै असार १ गतेसम्म काठमाडौं भद्रकालीमा रिले अनसनमा बस्ने छन् । त्यतिञ्जेलसम्म पनि माग पूरा नभए असार २ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालय बन्द रहने विद्यालय कर्मचारीले बताएका छन् ।
विद्यालय कर्मचारीको आन्दोलनमा नेपाल शिक्षक महासङ्घ सर्लाहीसहित विभिन्न राजनीतिक दल निकट शिक्षक सङ्घसङ्गठनले संयुक्त विज्ञप्ती निकालेर ऐक्यवद्धता जनाएका छन् ।