दीपक साशंकर/परवानीपुर– भर्खरै गोडमेल गरेको मकैको बोटमा किराको प्रकोप देखिन थालेपछि सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् ।
पानी नपर्दा चर्को घाम र उच्च तापक्रमले ओइल्याएर सुक्न लागेका मकैको बोटमा त्यसैमाथि किराले समेत पात खाने र गुबो काट्ने समस्या देखिएको लालबन्दी नगरपालिका–१५, धुसेनीका किसान कर्णबहादुर दियालीले बताए । आकाशे पानीको भरमा खेती हुने जिल्लाको उत्तरी चुरेभेग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रका किसानले लगाएको मकै बालीमा किराको प्रकोप देखिएको हो ।
कामदार लगाएर गोडमेल गरेको मकै खडेरी र किराको प्रकोपले सुक्न थालेपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन् । किरा मार्नका लागि औषधि प्रयोग गरे पनि नियन्त्रण हुन नसकेको किसानले गुनासो गरेका छन् ।
उत्तरी भेगको परवानिपुर, घारिबथान, पत्थरकोट, लालबन्दी, नवलपुर, अत्रौलीलगायत आकाशे वर्षा कुरेर खेती हुने क्षेत्रका किसानले रोपेको स्थानीय जात (लोकल) मकैमा किराको प्रकोप देखिएको हो । उत्तरी भेगका किसानले मकैलाई नै प्रमुख बाली मान्छन् ।
अहिलेको मकै साउनमा पाकेपछि पर्याप्त पानी परेको मौका पारेर किसानले धान रोप्ने गरेका छन् । यो वर्ष मध्य जेठको चर्को घाम र त्यसैमाथि किराको प्रकोपले मकैको बोट नै सुक्न थालेपछि किसानले चिन्ता व्यक्त गर्न थालेका छन् ।
कृषि ज्ञान केन्द्र मलङ्गवा सर्लाहीका प्रमुख देवानन्द राय यादवले पानी नपर्दा हरेक बाली बिग्रन थालेको बताए । उनले यो बेला उत्तरी भेगमा मकै गोडमेल गरेर हुर्किने र जिल्लाभर नै धानको ब्याड राख्ने समय भएको जानकारी दिए ।
गोडमेल गरेको मकैलाई र धानको ब्याड राख्न आवश्यक चिस्यानका लागि पानी आवश्यक परिरहेका बेला चर्को घाम लागेर खडेरी पर्दा किसानलाई थप पिडा दिएको कृषि ज्ञान केन्द्रका प्रमुख रायले बताए ।