बागवानी – पछिल्लो समय खेतबारीमा वस्तुभाउको मल प्रयोग हुनै छाडेकोमा सर्लाहीको बागवानीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
कृषि ज्ञान केन्द्र मलंगवाले माटो तथा मल परीक्षण प्रयोगशाला राजविराज, सप्तरीको सहकार्यमा उष्ण प्रदेशीय बागवानी केन्द्रमा आयोजना गरेको स्थानीय तहका प्राविधिकहरुलाई माटो नमूना संकलन तथा परीक्षण सम्वन्धी ३ दिने तालिमको शुक्रबार समापनमा बोल्ने वक्ताहरुले यस कुरामा चिन्ता व्यक्त गरेका हुन् । माटो तथा मल परीक्षण प्रयोगशालाका विज्ञ तथा तालिमका प्रशिक्षक रामदुलार यादवले जथाभावी रासायनिक मलखादको प्रयोग गर्दा जमिनको उर्बरा शक्ति कम हुँदै गएको बताए ।
उनले अहिले त ट्याक्टर राख्ने तर वस्तुभाउ नै नपाल्ने गरिएकाले खेतबारीमा चाहिने जति गोबर मल प्रयोग हुन नसकेको बताए । माटो सम्वन्धी विज्ञ यादवले माटोमा ५ प्रतिसत प्राङ्गारिक पदार्थ हुनुपर्नेमा अहिले शुन्य दशमलव २ प्रतिसत मात्रै रहेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले यही अवस्था हुने हो भने तराईको खेतबारी मरुभूमीमा परिणत हुन समय नलाग्ने बताए । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अन्नको उत्पादन बेगर जति नै विकास र प्रगति भएपनि अर्थ नहुने बताए । सीडीओ यादवले कृषि प्राविधिकहरुलाई माटोमा हुनुपर्ने गुणका बारेमा किसानलाई बुझाउने काममा लाग्न सुझाव दिए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कृषि ज्ञान केन्द्र मलंगवामा भर्खरै आएका कार्यालय प्रमुख देवानन्द राय यादवले ग्रासरुट अर्थात् तल्लो तहमा रहेर काम गर्ने कृषि प्राविधिकलाई माटो बचाउने र प्राङ्गारिक मलको प्रयोग बढाउनेतर्फ लाग्न आग्रह गरेका छन् ।
तालिमको समापन कार्यक्रममा माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख सुनिल सिंह, तेलबालीका प्रमुख डा. सुवास सुवेदी, बागवानीका निमित्त केन्द्र प्रमुख रामकुमार यादव, बागवानीकै बाली संरक्षण अधिकृत सुनिल चौधरीलगायतको उपस्थिति थियो ।
तालिममा सर्लाहीको २० वटै पालिकाका कृषि प्राविधिक सहभागी भएका लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले बताए ।