logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अत्यधिक गर्मी बढेपछि हरिवन र लालबन्दीका विद्यालय बन्द


  • उज्यालो अभियान

हरिवन – केही दिनदेखि अत्यधिक गर्मी बढेपछि सर्लाहीको हरिवन र लालबन्दी नगरपालिकाले विद्यालय बन्द गराएका छन् ।

हरिवन नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले शुक्रबार दिउँसो सूचना जारी गर्दै गर्मी अत्यधिक हुँदा पठनपाठन गराउनै समस्या भएको भन्दै जेठ २१ गते आइतबारदेखि २६ गते शुक्रबारसम्म एक साताका लागि विद्यालय दिएको हो ।

शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईंले हस्ताक्षर गरी जारी गरेका सूचनामा ‘हाल बढ्दो अत्यधिक गर्मीको कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गर्मी विदाका लागि सामुदायिक विद्यालयका प्रअहरु तथा प्याब्सन हरिवनबाट समेत अनुरोध भएको हुँदा जेठ २१ गतेदेखि २६ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी, सञ्चालिन परीक्षाहरु यथावत् रहने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने’ भनी उल्लेख गरिएको छ ।

यस्तै, लालबन्दी नगरपालिकाले पनि गर्मी बढेपछि ३ दिन विद्यालय बन्द गरेको छ । शिक्षा अधिकृत लक्ष्मी शिवाकोटीले शुक्रबार दिउँसो हस्ताक्षर गरी जारी गरेको सूचनामा २१ गतेदेखि २३ गतेसम्म लालबन्दी नगरपालिकाभित्रका विद्यालय बन्द रहने उल्लेख छ ।

सर्लाहीसहित तराई क्षेत्रमा केही दिनदेखि दिनभर टन्टलापुर घाम लागेर तातो हावा चलिरहेको छ । गर्मी खप्न नसकेर बालबालिका बिरामी नै पर्न थालेका छन् ।

गएको सोमबारदेखि झनै बढेको गर्मीले आम मानिस रातदिन छटपटाएर बस्न बाध्य छन् । यहाँका स्थानीय वर्षा भइदिए गर्मी केही कम हुने आशमा बसेका छन् ।

गर्मीले जमिन तथा घर दुवै तातेर राप बढ्दा मानिसलाई घरभित्रै बस्न पनि सकस छ ।