logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बागवानीको आँप : इतिहासमै महँगोमा ठेक्का


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको आँप इतिहासमै पहिलो पटक महँगो मूल्यमा ठेक्का लागेको छ ।

देशको सबैभन्दा ठूलो बागवानी केन्द्रको आँप यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै एक करोड ११ लाख ६० हजार रुपियाँमा ठेक्का लागेको हो । केन्द्रको आँप यो भन्दाअघि कहिल्यै पनि यतिधेरै मूल्यमा ठेक्का लागेको थिएन ।

यो वर्ष बागवानीमा आँपको फलाइ असाध्य राम्रो रहेकाले महँगो मूल्यमा ठेक्का लागेको निमित्त केन्द्र प्रमुख रामकुमार यादवले बताए । स्थानीय किसान र केन्द्रमा वर्षौदेखि काम गर्दै आएका कर्मचारीले अहिलेसम्मकै धेरै आँप फलेको बताएका छन् ।

यो वर्ष बागवानीको आँप गुणस्तर र कतै दाग समेत नलागेको निमित्त केन्द्र प्रमुख यादवले बताए । १२० बिघामा रहेको आँप यो साल लालबन्दी नगरपालिका–१, नवलपुरकै महेश चौधरीले एक करोड ११ लाख ६० हजार रुपियाँमा ठेक्का सकार गरेका बागवानी केन्द्रले जनाएको छ ।

यसअघि दुई÷तीन पटक मात्रै एक करोडको हाराहारीमा केन्द्रको आँप ठेक्का लागेको थियो । सुरुमा जसरी ढकमक्क भएर फूलेको थियो त्यहि हिसाबले फल समेत लागेको केन्द्रले जनाएको छ । आँपको फललाई जोगाउन यो वर्ष २४ लाख रुपियाँमा नेपालमै पहिलो पटक विषादी छर्किने मेसिन ‘हाइ पावर प्रेसर एस्प्रेएर’ ल्याएर औषधि छर्ने काम गरिएको निमित्त केन्द्र प्रमुख यादवले बताए ।

बागवानीमा सुकतार, बम्बै, जर्दा, दसहरि, माल्दलगायत जातको आँप खेती हुने गरेको छ । आगामी असार मसान्तसम्म आँप टिपिसक्ने ठेकेदारसँग भएको सम्झौतामा उल्लेख छ ।

यस्तै, बागवानीको लिची पनि यो वर्ष ठेक्का लागिसकेको छ । झण्डै १३ बिघा क्षेत्रफलमा रहेको लिची १२ लाख १८ हजार रुपियाँमा ठेक्का लागेको छ ।

बागवानीको लिची दुई÷चार दिनभित्रै टिप्न सुरु गर्ने ठेकेदारको तयारी छ । यहाँको आँप र लिची स्थानीय बजारसँगै काठमाडौंसम्म पुग्ने गरेको छ ।

बागवानीको लिची टिप्ने काम नै सुरु नभएकाले बागवानी केन्द्र अगाडिकै पूर्व–पश्चिम राजमार्गमा बागवानीको लिची भन्दै बिक्री गर्न राखिएकाले ग्राहकलाई भ्रममा नपर्न केन्द्रले आग्रह समेत गरेको छ । राजमार्गमा राखिएको लिची बागवानी केन्द्रको नभइ भारतबाट ल्याइएको र स्थानीय स्तरमा उत्पादन भएको लिची रहेको केन्द्रले जनाएको हो ।

यसरी बागवानीको नाम दिएर राजमार्गमै सवारी दुर्घटना निम्तिने गरी लिच्ची बेच्ने व्यक्तिलाई हटाउने प्रयत्न गरिरहेको निमित्त केन्द्र प्रमुख यादवले बताए । उनले बागवानीको लिची र आँप टिप्न थालेपछि केन्द्रकै गेटमा राखेर बेचिने प्रष्ट पारेका छन् ।