लालबन्दी – सर्लाहीमा आज दिउँसोबाट पानी पर्न रोकिएर घाम लाग्न थालेको छ ।
यहाँ बिहानभर नै सिमसिम पानी पर्यो । दिउँसोबाट मौसम सफा भई घाम लाग्न थालेको हो । पानी परेपछि टाढासम्म देखिने गरी मौसम छर्लङ भएर उघ्रिएको छ ।
सर्लाहीमा विगत ३/४ दिनदेखि मौसम यस्तै भइरहेको छ । सामान्य वर्षा भइदिँदा पनि गर्मी निकै कम भएको छ । सर्वसाधारणले शित्तलताको महुसस गरिरहेका छन् । चैत लागेदेखि निरन्तर बढेको गर्मी अहिले पानी परेपछि कम भएको हो । पानी परेर ओसिलो हुँदा कच्ची सडकमा धुलो कम भएको छ भने वन जंगलमा लागेको डढेलो निभेको स्थानीय वासिन्दाले बताएका छन् ।
पानी परेर जमिन भिजेको मौकामा जिल्लाको उत्तरी भेगका किसान हिजोआज बाँझो बारी जोतेर मकै रोप्न ब्यस्त भएका छन् । उखुलगायत अन्य खेती लगाउने र सिँचाई सुविधा भएको दक्षिणी भेगका किसान भने उखुमा मलखाद गर्ने, चैते धान गोडमेल गर्ने र कतैकतै पाकेको मकै थन्काउने लगायतका काममा किसान व्यस्त भएका हाम्रा संवाददाताले जनाएका छन् ।
खडेरीले उजाड बनेका वन, कान्ला र बारीभित्ता तथा पाखोमा विस्तारै पालुवा पलाउँदै जाँदा पशुपालक किसानलाई राहत मिलेको छ ।