logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा बैशाख १२ गतेदेखि डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शन हुने


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा यही बैशाख १२ गतेदेखि १४ गतेसम्म डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ ।

हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा हरिवन ११ स्थित सुर्ती विकास मैदानमा प्रदर्शनी हुने भएको हो । कृषिमा यान्त्रिकरणको वृद्धि, दुग्धजन्य एवं कृषि उत्पादनमा नविनतम् प्रविधि भन्ने मूल नाराका साथ मधेश प्रदेशमै पहिलो पटक यस प्रकारको प्रदर्शनी आयोजना गर्न लागिएको प्रदर्शनीका संयोजक एवं हरिवन नगरपालिका ४ का वडाध्यक्ष केशवराज थापाले जानकारी दिए ।

आयोजकले शुक्रबार दिउँसो हरिवन नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीबारे जानकारी गराएको छ । प्रदर्शनीमा किसानले निःशुल्क स्टल राख्न पाउने र प्रवेश पनि निःशुल्क गराइने छ ।

पशुपालक किसान र कृषि पेशामा आवद्ध किसानलाई उनीहरुले उत्पादन गरिरहेको वस्तु र त्यसलाई प्रविधिसँग जोडेर अझ उत्पादन बढाउने उद्देश्यसहित प्रदेशमै पहिलो पटक यस प्रकारको प्रदर्शनी आयोजना गरिएको प्रदेश दुग्ध विकास बोर्ड जनकपुरधामका प्रमुख उपेन्द्र कुमार सिंहले बताए । उनले प्रदर्शनीमा पशुपालन र कृषि क्षेत्रका विज्ञलाई समेत ल्याएर किसानसँग भेट गराउने र उनीहरुको समस्या समाधान गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।

प्रदर्शनीमा माटो परीक्षण, गोबर परीक्षण, बाली उपचार, विभिन्न बैंक तथा वित्तीय संस्थासँग कृषि कर्जा सम्वन्धी अन्तक्र्रियालगायतको कार्यक्रम रहने हरिवन नगरपालिकाका सूचना प्रविधिक अधिकृत तथा सहकारी शाखाका प्रमुख दिपेन्द्र कुमार उप्रेतीले बताए । प्रदर्शनीको बैशाख १२ गते मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले उद्घाटन गर्नेे बताइएको छ ।