logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

खोलाको बगरबाटै बस दौडिँदै, बजार भर्न आउन सहज


  • उज्यालो अभियान

लालबन्दी – सडक नपुगेको सर्लाहीको चुरेभेगस्थित दुर्गम क्षेत्रमा खोलाको बगरबाट बस सञ्चालन भइरहेका छन् ।

यो वर्ष अहिलेसम्म खोलाबाढी नआएकाले बगरबाटै बस सञ्चालन भइरहेका हुन् । सडक नरहेकाले यहाँको चुरेभेगका केही बस्तीमा खोलाको बगर हुँदै आवजावत गर्नुपर्ने बाध्यता छ ।

वर्षा हुन थालेपछि खोला बाढी आएर गाउँमै थुनिने स्थानीय अहिले भने खोलाको बगरबाट बस गुड्दा गाउँमा उत्पादित कृषि उत्पादन र खसी, बाख्रा बिक्री गर्न तथा आफूलाई आवश्यक पर्ने खाद्यान्न खरिद गर्न बजार आइरहेका छन् । यहाँको बाँके, कालिञ्जोर र लखन्देही खोला भएर दैनिक आधा दर्जन भन्दा बढी बस सञ्चालन भइरहेका छन् ।

ईश्वरपुर नगरपालिका–१२, पिपलदमारका बलिमराज वाइवाले लालबन्दी बजारदेखि घारिबथान, पिपलदमार हुँदै सिन्धुलीसम्म नै नियमित बस सञ्चालन भइरहेको जानकारी दिए । बस सञ्चालन भइरहँदा दुःख बिराम पर्दा बजारसम्म उपचार गर्न आउन र बजारबाट नुन, तेल, चामलजस्ता दैनिक आवश्यक पर्ने खाद्यान्न खरिद गरेर लान सहज भएको वाइवाले बताए ।

उनका अनुसार ठूलो पानी पर्न थालेपछि खोलामा बाढी आउनासाथ बस चल्न बन्द हुन्छ । लालबन्दी बजारबाट अहिले नारायण खोला हुँदै सिन्धुलीको वरुण, झ्याडी, मरिणलगायतका क्षेत्रमा बस सञ्चालन भइरहेको लालबन्दी नगरपालिका–१४, नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले बताए ।

बस व्यवसायी समेत रहेका वडाध्यक्ष घिसिङले ठूलो वर्षा भएर खोलाको बाटो नबगाएसम्म बस सञ्चालन हुने जानकारी दिए । जिल्लाको हरिवन बजारदेखि सिन्धुलीको क्यानखोलातर्फ पनि बस सञ्चालन भइरहेको छ ।

सिन्धुलीको हरिहरपुरगढी र मरिण क्षेत्रबाट अहिले सदरमुकाम सिन्धुलीमाढीसम्म सडक निर्माण भइ यातायात सञ्चालन हुने गरे पनि स्थानीय वासिन्दा भने पहिले झैँ अहिले बजार भर्नका लागि सर्लाहीको लालबन्दी वा हरिवन नै आइरहेका छन् ।