प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी ।
लालबन्दी – सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा रेबिजविरुद्धको भ्याक्सिन सकिँदा बिरामी मारमा परेका छन् ।
कुकुरले टोकेपछि रेबिजविरुद्धको भ्याक्सिन लगाउन अस्पताल आएका बिरामी भ्याक्सिन नै सकिँदा त्यसै फर्किनुपरेको छ । हरिवन नगरपालिका ३ डाबरीका उग्रमान मोक्तानले प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा आउँदा भ्याक्सिन सकिएको बताएपछि बाहिरबाट ६०० रुपैयाँमा किनेर भ्याक्सिन लगाएको उज्यालो अभियानसँग बताए ।
ईश्वरपुर नगरपालिकास्थित श्रीनगरका प्रमोद कुमार सिंह पनि डुमडुमेमा रेविजको भ्याक्सिन लगाउन आए तर पाएनन । उनले पनि उग्रमानले जस्तै बाहिर निजी क्लिनिकबाटै भ्याक्सिन किनेर लगाएका छन् ।
स्वास्थ्य निर्देशनालय सपही, धनुषाले लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई महिनामा डेढ सय भाइल भ्याक्सिनको कोटा तोकेर भ्याक्सिन पठाउने गरेको छ । तर, डेढ सय भाइल भ्याक्सिन १०÷१५ दिनमै सकिने गरेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका इन्चार्ज सुदीप काफ्लेले उज्यालोसँग बताए ।
उनले डेढ सय कोटा मात्रै रहेको तर कुकुरले टोकेका बिरामी अत्यधिक आउँदा धान्नै गाह्रो परेको गुनासो गरे । उनले भ्याक्सिन सक्किएपछि बैशाख महिनाको कोटा अहिले नै पठाइदिन आग्रह गरेको र प्रदेशबाट भोली (बुधबार) सम्म उपलब्ध गराइदिने आश्वासन आएको बताएका छन् ।
काफ्लेले प्राथमिक स्वास्थ्य केन्द्रमा लालबन्दीसहित हरिवन, ईश्वरपुर, बागमती, हरिपुर, चन्द्रनगरसहित दक्षिणी भेगका गाउँ–गाउँबाट र छिमेकी जिल्ला सिन्धुलीको क्यानेश्वर क्षेत्रबाट समेत कुकुरले टोकेका बिरामी आउने गरेकाले भ्याक्सिन पुर्याउनै नसकिरहेको बताए । उनले डेढ सय कोटा भ्याक्सिन लालबन्दीका लागि अर्पाप्त रहेको गुनासो गरेका छन् ।
यसअघि २०० भाइल भ्याक्सिनको कोटा भएपनि पछिल्लो समय लालबन्दीकै कोटाबाट कटाएर सासापुर स्वास्थ्य चौकीमा ५० भाइल पठाउने गरिएको छ । तर, त्यहाँ पनि ल्याएको केही दिनमै भ्याक्सिन सक्किने गर्छ ।
दक्षिणी भेगका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा प्रदेशले रेबिजको खोप पठाउने गरेको छ ।