logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुरमा नेपाल शिक्षक संघको नवौँ जिल्ला अधिवेशन सुरु, नेतृत्व छान्न भोली मतदान


  • उज्यालो अभियान

हरिपुर – नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ सर्लाहीको नवौँ जिल्ला अधिवेशन आज (मंगलबार) बाट सर्लाहीको हरिपुरमा सुरु भएको छ ।

अधिवेशनको शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय, मधेश प्रदेश सभाका सदस्य कौशलकिशोर राय, जंगिलाल राय, पूर्व जिल्ला उपसभापति विनोद खनाल, पूर्व सांसद हरेश महतो, हरिपुरका मेयर गोपाल पजियार, ईश्वरपुरका मेयर मनोजकुमार आचार्य, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवलगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्वमा सहमती जुट्न नसकेपछि अब भोली मतदानमार्फत शिक्ष्ँक संघको नयाँ नेतृत्व चयन गरिने भएको हो । शिक्षक संघको नेतृत्वका लागि कांग्रेसको संस्थापन र संस्थापन इतर पक्षले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएको छ ।

संस्थापन पक्षबाट प्रवीणकुमार पासवान र संस्थापन इतरबाट गणेशप्रसाद उप्रेतीको नेतृत्वमा उम्मेदवारी दर्ता भएको हो । मतदानबाट एक अध्यक्ष, एक महिलासहित दुई उपाध्यक्ष, एक सचिव, एक अर्थसचिव, दुई सहसचिव, दुई समावेशी सहसचिव, एक महिला सहसचिवसहित १० जना पदाधिकारी र ३ महिलासहित ७ जना जिल्ला कार्य समिति सदस्य चयन हुने छन् ।

त्यस्तै, दुई महिलासहित ५ जना संघीय प्रतिनिधि र २ महिलासहित ६ जना प्रदेश प्रतिनिधि समेत चयन गरिने निर्वाचन समितिले जनाएको छ । नेपाल शिक्षक संघमा जिल्लाको २० वटै पालिकाका १६ सय ११ जना शिक्षक आवद्ध छन् ।

भोलीको निर्वाचनमा उनीहरुले नै मतदान गर्न पाउने छन् । भोली बिहान ८ बजेदेखि ४ बजेसम्म हरिपुरस्थित महावीर जनता बहमुखी क्याम्पसमा मतदान हुने छ ।