logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

अन्नपूर्ण र महालक्ष्मीले उखु किसानलाई पैसा दिएनन


  • उज्यालो अभियान

धनकौल – उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् ।

अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । यि दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले वर्षेनि आन्दोलन गर्दै आइरहेका छन् ।

सुरुमा केहीलाई भुक्तानी दिएर यि दुवै चिनी उद्योगका सञ्चालक अहिले आफूहरुसँग सम्पर्कमै नरहेको गोडैता नगरपालिका–९, का किसान सीताराम यादवले गुनासो गरेका छन् । “सुरुमा केही किसानलाई भुक्तानी दिइयो, त्यसपछि बाँकी किसानको पैसा दिन मिलले वास्तै गरेको छैन्,” यादवले भने, “मिल बन्द भइसकेको एक महिनासम्म पनि उद्योगी सम्पर्कमा नआउँदा हामीलाई व्यवहार धान्न गाह्रो परिसकेको छ ।”

उद्योगले उखु बेचेको पैसा नदिँदा बालबालिकाको विद्यालयमा शुल्क बुझाउन नपाएको यादवले गुनासो गरे । उखु खेतीबाटै व्यवहार चलाउने किसान उद्योगबाट पैसा नपाउँदा साहुमहाजनबाट ऋण काड्न बाध्य भएका छन् ।

धनकौल गाउँपालिका–३, का उखु किसान रामस्वार्थ साहले उखुको पैसा नपाउँदा उखु काट्ने जन, ढुवानी गर्ने ट्याक्टरको पैसा धरी तिर्न नपाएको गुनासो गरेका छन् । “उखु फलाउँदादेखि उद्योगसम्म लगेर बुझाउँदासम्मको उधारो छ तर उद्योगले कहिले पैसा दिन्छ भन्ने अयौल छ,” उखु किसान साहले भने ।

अब पनि चिनी उद्योगले भुक्तानी नदिए मिटरब्याजबाट पीडित भएकाहरुले झैँ आफूहरु पनि आन्दोलनमा उत्रन बाध्य हुने साहको भनाई छ । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनबाट भने उखु किसानले क्रमिकः रुपमा भुक्तानी पाइरहेको बताएका छन् ।

किसानलाई भुक्तानीमा आलटाल गर्ने अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहका सञ्चालक स्थानीय प्रशासन र सञ्चारकर्मीको समेत सम्पर्कमा आउन चाँहदैनन् । बेलैमा भुक्तानी नदिने समस्याका कारण पछिल्ला वर्षमा किसानले अन्यत्र ठाउँका चिनी उद्योग र सख्खर बनाउने उद्योगलाई उखु बेच्न थालेका छन् ।
भुक्तानीकै झन्झटका कारण उखु खेती छाड्ने किसान पनि बढ्दै गएका छन् । उखु खेती घट्दा चिनी उद्योगहरु उखु नपाएर छिट्टै बन्द हुने गरेका छन् ।