बयलवास – सर्लाहीको बयलवास बजारमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्ना शेयर सदस्यसँग बृहत्तर अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
वर्तमान अवस्थामा सहकारी संघसंस्थामा देखिएको समस्या र सो को समाधानका विषयमा संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीकी नवनिर्वाचित अध्यक्ष मन्दिरा आचार्यको प्रमुख आतिथ्यतामा अन्तक्र्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाका व्यवस्थापक विनोदकुमार थापाले संस्थाको समग्र विषयमा शेयर सदस्यहरुलाई जानकारी गराए ।

संस्थाका उपाध्यक्ष वाल्मिकी सिंहले स्वागत गरेका कार्यक्रममा संस्थाका सचिव बेचुप्रसाद तिमल्सिना, कोषाध्यक्ष विष्णुहरि मैनालीलगायतले मन्तव्य राखे । कार्यक्रममा संस्थाका अध्यक्ष कार्कीले स्वस्तिकमा कुनै पनि प्रकारको समस्या नभएकाले ढुक्क भएर कारोवार गर्न उपस्थित शेयर सदस्यसँग अनुरोध गरे ।
नेफ्स्कुन फिल्ड कार्यालय हरिवनका प्रमुख महेश बरालले स्वस्तिक ‘प्रोबेसन ब्राण्डिङ’ मा रहेकाले हरेक तीन महिनामा नेफ्स्कुनका कार्यक्रम अधिकृत आएर संस्थाको हरहिसाब जाँच गरी प्रतिवेदन दिने भएकाले समुदायमा आधारित भन्दा बाहिरका कुनै पनि क्रियाकलाप नगर्ने यस संस्थासँग ढुक्क भएर कारोवार गर्न सुझाव दिए । जिल्ला बचत संघकी नवनिर्वाचित अध्यक्ष आचार्यले स्वस्तिक साकोस मधेश प्रदेशकै उत्कृष्ट सहकारी भएकाले बिना हिच्किचाहट कारोवार गर्न आग्रह गरिन् ।
कार्यक्रममा उपस्थिति शेयर सदस्यहरुले शनिबारको कार्यक्रमबाट धेरै कुरामा प्रष्ट हुने अवसर मिलेको भन्दै अझ ढुक्क भएर कारोवार गर्ने बताएका छन् ।