logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा ५८ जना पत्रकारको निःशुल्क आँखा परीक्षण


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा क्रियाशील पत्रकारहरुलाई सोमबार निःशुल्क आँखा परीक्षण गरी चश्मा र औषधि समेत वितरण गरिएको छ ।

नेपाल नेत्रज्योति संघले आफ्नो ४५ औँ स्थापना दिवसको अवसरमा जिल्लाका पत्रकारहरुलाई एक दिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको हो । उत्तरी भेगका पत्रकारका लागि लालबन्दीस्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानको शाखा र दक्षिणी भेगका पत्रकारका लागि सदरमुकाम मलंगवास्थित सोही अस्पतालको शाखामा निःशुल्क आँखा परीक्षणसँगै आवश्यकता अनुसार चश्मा र औषधि वितरण गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार लालबन्दीमा ३५ जना पत्रकारको आँखा परीक्षण गरिएको छ । त्यसमध्ये १९ जनालाई चश्मा प्रदान गरिएको छ । जटिल समस्या देखिएक दुई जनालाई लहान रेफर गरिएको छ भने अन्य छ जनाको अवस्था सामान्य देखिएको लालबन्दीस्थित सगरमाथा आँखा अस्पतालका डाक्टर रमेशकुमार सिंहले जानकारी दिए ।

यस्तै, सदरमुकाम मलंगवामा २३ जना पत्रकारको आँखा परीक्षण गरिएको र त्यसमध्ये २० जनाले चिकित्सकको सल्लाह अनुसार चश्मा र औषधि लिएका नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष विश्वनाथ ठाकुरले बताए । मलंगवामा सगरमाथा आँखा अस्पतालको मलङ्गवा शाखाका डाक्टर निरञ्जन साहले पत्रकारहरुको आँखा परीक्षण गरेका छन् ।

पत्रकार महासंघको मधेश प्रदेशले नेपाल नेत्रज्योति संघसँग समन्वय गरी सर्लाहीसहित विभिन्न जिल्लामा सोमबार एकैसाथ पत्रकारहरुको लागि निःशुल्क आँखा शिविरको व्यवस्था मिलाएको हो ।